पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य


पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य

काठमाडौं। पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो एक सातादेखि कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

पछिल्लो समय गत फागुन २७ गते एक जना संक्रमितको मृत्यु भएको र त्यसयता संक्रमणबाट मृत्यु नभएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमित पनि ३ हजार ९ सय ९६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ५१ जना संक्रमित भेटिएका छन् ।

५ हजार ९ सय १४ जनामा गरिएको परीक्षणमा ५१ जना संक्रमित भेटिएका हुन् भने ३ सय ९२ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ भने देशभर २७ जना संक्रमित आइसियू र ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।