स्थानीय निर्वाचन के गर्ने भन्नेबारे नीतिगत निर्णय लिन विप्लव’ नेतृत्व नेकपाको बैठक बस्दै


स्थानीय निर्वाचन के गर्ने भन्नेबारे नीतिगत निर्णय लिन विप्लव’ नेतृत्व नेकपाको बैठक बस्दै

काठमाडौं। स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे छलफल गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बस्दै छ । कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहानदेखि बैठक सुरु हुने सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले जानकारी दिए ।

प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय गर्ने छ ।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए । उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन । पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । वास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा थिए । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बसेका थिए । पार्टीमा विप्लव र प्रवक्ता विश्वकर्माको पडक भएकाले केन्द्रीय समिति बैठकले चुनाव उपयोगको नीति लिने अनुमान गरिएको छ ।

चुनावमा जानुपर्नेमा विप्लव र विश्वकर्मा एकमत रहे पनि कोसँग मिलेर जाने भन्नेमा उनीहरुबीचमै मतभिन्नता छ । विश्वकर्मा एमालेसँग तालमेल गरेर जानुपर्ने पक्षमा छन् भने विप्लव खुलिसकेका छैनन् ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग विप्लवको नियमित भेटघाट भइरहेकाले विप्लवले माओवादीसँगै मिलेर जानुपर्ने विचार राख्नसक्ने ठानिएको छ । अघिल्लो स्थानीय तह निर्वाचन विप्लव समूहले बहिस्कार गरेको थियो ।