युक्रेन-रुस युद्धबारे छलफल गर्न अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता हुने


युक्रेन-रुस युद्धबारे छलफल गर्न अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता हुने

काठमाडौं। युक्रेनमाथि रुसी आक्रमणबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचआज टेलिफोन वार्ता हुने भएको छ ।

युक्रेनमाथि रुसी आक्रमणबारे चिनियाँ राष्ट्रपति सीको धारणा बुझ्न बाइडेनले टेलिफोन वार्ता गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । उनीहरुबीच आज साँझ टेलिफोन वार्ता हुनेछ । सोमबार इटालीको रोममा भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र चिनियाँ उच्च कूटनीतिज्ञ याङ जिएछी बीचको भेटपछि बाइडेन र सीबीच कुराकानी गर्ने सहमति भएको थियो ।

गत फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए । अमेरिकाले युक्रेनमा रुसी आक्रमणको विरोध गर्दै अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्धहरु लगाएको छ ।

अमेरिका लगायत युरोपेली देशहरु रुसी आक्रमणको विरोधमा छन् । यी देशहरुले युक्रेनलाई हतियारसहित विभिन्न सहयोग गरिरहेका छन् । तर चीन भने अहिलेसम्म तटस्थ छ ।