युक्रेनी शरणार्थीलाई आश्रय दिए मासिक ३५० पाउण्ड भत्ता दिने बेलायतको घोषणा


युक्रेनी शरणार्थीलाई आश्रय दिए मासिक ३५० पाउण्ड भत्ता दिने बेलायतको घोषणा

काठमाडौं । युक्रेनका शरणार्थीहरुलाई आश्रय दिने आफ्ना नागरिकहरुलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड भत्ता दिने घोषणा गरेको छ ।

बेलायतका आवास मन्त्री माइकल गोभले टेलिभिजन अन्तर्वार्ताको क्रममा उक्त घोषणा गरेको स्काई न्यूजले जनाएको छ ।

यो योजना अनुसार बेलायतका नागरिकले एक युक्रेनी व्यक्ति वा परिवारलाई आफ्नो घरमा सित्तैमा बस्न दिन वा अलग्गै सम्पत्ति उपभोग गर्न दिन सक्नेछ ।

आफूहरुको यो योजनाबाट हजारौं शरणार्थीहरु लाभान्वित हुने मन्त्री गोभको विश्वास छ । उनका अनुसार यो योजनामा स्थानीय परिषदलाई प्रतिव्यक्ति १० हजार पाउण्ड अनुदान दिइने छ, ताकि रुस-युक्रेन संघर्षको कारण शरणार्थी बनेकाहरुको अतिरिक्त आवश्यकता पूरा गर्न सकियोस् ।

उनले भनेका छन्, ‘हाम्रो देशमा आउने प्रत्येक व्यक्तिका लागि स्थानीय अधिकारीहरुलाई प्रतिव्यक्ति १० हजार पाउण्डभन्दा बढी उपलब्ध गराइने छ ।’

रुसले आक्रमण गरेपछि देश छोड्न बाध्य भएका युक्रेनका नागरिकहरुलाई आवास दिन इच्छुकहरुको सूची दर्ताका लागि सोमबारदेखि एक अनलाइन लन्च गर्ने तयारीसमेत गरेको मन्त्री गोभले बीबीसीको सण्डे मोर्निङ कार्यक्रममा भनेका छन् ।

युक्रेनी शरणार्थीहरुलाई रोजगारी दिन सेन्सबरी, मार्क्स एण्ड स्पेन्सर, मोरिसन्स लगायत बेलायतका कम्पनीहरुले इच्छा देखाएको पनि बीबीसीले जनाएको छ ।