प्रहरीको कुटाइले युवकको मृत्युपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त


प्रहरीको कुटाइले युवकको मृत्युपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त

सुर्खेत । कालिकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आक्रोशित आफन्तजन र प्रहरीबीच झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपले प्रदेश राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको हो ।

आक्रोशित प्रदर्शनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय कृष्ण हमाल (मिनी) को शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएको थियो ।

हमालको मृत्यु प्रहरीको निर्घात कुटाइबाट भएको भन्दै स्थानीयले प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेपछि वीरेन्द्रनगरको यरीचोक तनावग्रस्त बनेको छ ।

परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घाट कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् । आन्दोलन हिंसात्मक बन्ने खतराले बजारका चोक चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

बाँकेको नेपालगञ्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा हमाल, ट्रक चालक र सहचालकलाई सुब्बा कुना प्रहरी पोष्टले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

हमाललाई मादक पदार्थ सेवन गरे/नगरेको जाँच गर्न सुर्खेत अस्पतालमा लैजाँदा गर्दा मृत्यु भएको प्रहरीको दाबी छ । तर अस्पतालले भने घटनाबारे एक विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले घटनाबारे अनुसन्धान भइरहेको जनाए ।

प्रशासनले बनायो छानबिन समिति

जिल्ला प्रशासन कार्यालय सुर्खेतले हमालको मृत्युको घटनामा छानबिन गर्न छानविन समिति बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षमा बसेको जिल्लास्थित सुरक्षा निकायको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्य छानबिन समिति बनाएको छ ।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । प्रशासनले घटनालाई लिएर जिल्लामा हुन सक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रण गर्न भनेको छ ।

प्रशासनले आफन्तहरुलाई पनि छानबिनको वातावरण बनाउन आग्रह गरेको छ ।
-अनलाइनखबरबाट