त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन सहित दुईजना पक्राउ


लेखक : लेखापढी      १५ फाल्गुन २०७८, आईतवार ०८:३४ मा प्रकाशित     
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन सहित दुईजना पक्राउ

काठमाडौं । एक किलोभन्दा धेरै सुनसहित विमानस्थलबाट दुईजना पक्राउ परेका छन् । अवैध रूपमा लुकाई छिपाई भन्सार छलेर लैजान लागेको १ हजार १६५ ग्राम तौल भएको सुनको १० थान सिक्रीसहित प्रहरीले सुनसरी इटहरीका कमल घिमिरे र लक्ष्मण गुरागाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।  गुरागाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा हुन् । 

फ्लाई दुवईको उडानद्वारा दुबईबाट नेपाल आएका घिमिरेलाई जाँच गर्दा उक्त सिक्री लुकाई छिपाई लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

“प्रारम्भिक अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा लक्ष्मण गुरागाईले अध्यागमन एरियामा रहेको शौचालयमा गई कमल घिमिरेले ल्याएको सुनको सिक्रीहरु लिई भन्सार जाँच क्षेत्र पास गराई पुन: सोही क्षेत्रको शौचालयमा गई फिर्ता दिएको खुल्न आएपछि गुरागाईलाई पनि नियन्त्रणमा लिएको छ,” प्रहरीले भनेको छ ।

दुवै जनालाई थप अनुसन्धान र कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।