पूर्वमन्त्री तथा पूर्वसचिव श्रेष्ठविरुद्ध करिब साढे चार करोड बराबरको भ्रष्टाचार मुद्दा


लेखक : लेखापढी      १५ फाल्गुन २०७८, आईतवार १५:२१ मा प्रकाशित     
पूर्वमन्त्री तथा पूर्वसचिव श्रेष्ठविरुद्ध करिब साढे चार करोड बराबरको भ्रष्टाचार मुद्दा

काठमाडौँ- पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।

पूर्वमन्त्री तथा पूर्वसचिव श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा विभिन्न पदमा रहेर कुल ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँ ४० पैसाको स्रोत खुलेको आयोगले जनाएको छ । उनले समीक्षा अवधिभित्र ११ करोड ३५ लाख ४४ हजार २९४ रुपैयाँ ३८ पैसा खर्च गरेको पाइएकाले आम्दानीको तुलनामा खर्चमा प्रयोग भएको बढी रकम ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ ९८ पैसा बराबरको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

आयोगका अनुसार श्रेष्ठ २०३६ कार्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भई विभिन्न मितिमा पदोन्नति हुँदै २०६४ माघ ८ गते सचिव पदमा कार्यरत अवस्थामा अनिवार्य अवकाश पाएका थिए ।

उनले २०६९ चैत ६ देखि २०७० माघ २९ सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका थिए । आयोगले उनी सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७२ पुस ८ सम्मको अवधिलाई जाँच अवधि कायम गरी उनको आम्दानी र खर्चको तुलना गरेको हो ।

श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घर समेतको स्रोत पुगेको सम्पत्तिबाट बिगो असुल उपर गर्न आयोगले मागदाबी गरेको छ ।
रातोपाटिबाट