नेपाल विश्वकप खेल्न आजको खेलमा यूएईलाई पराजित गर्नुपर्ने


नेपाल विश्वकप खेल्न आजको खेलमा यूएईलाई पराजित गर्नुपर्ने

काठमाडौं । आज हुने सेमिफाइनलमा यूएईलाई पराजित गरेमा नेपालले अस्ट्रेलियामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान पक्का गर्ने छ । विश्वकप १६ अक्टोबरदेखी १३ नोभेम्बरसम्म हुनेछ । 

ग्लोबल क्वालिफायर ‘ए’बाट फाइनल खेल्ने दुई र जिम्बाब्वेमा हुने ग्लोबल क्वालिफायर ‘बी’बाट फाइनल खेल्ने दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । 

नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर ‘ए’मा क्यानडालाई ८ विकेटले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको छ । सोमबार कुशल भुर्तेल र दीपन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्नुका साथै सन्दीप लामिछानेको तीन विकेट लिएको खेलमा नेपालले सानदार जित निकालेको हो ।

मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा क्यानडाका कप्तान नवनित धालिवालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रन बनाएको थियो । ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।

समूहको अन्तिम खेल विजय हासिल गरेसँगै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपालले अब फाइनल प्रवेशका लागि युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ । यूएई सोमबारै समूहको अन्तिम खेलमा बहराइनसँग पराजित भए पनि रनरेटका आधरमा सेमिफाइनल पुग्न सफल भएको हो ।

समूह ‘ए’बाट आयरल्यान्डले विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । आयरल्यान्डले फाइनल प्रवेशका लागि ओमानविरुद्ध खेल्नेछ । ओमानले आजै सम्पन्न अर्को खेलमा फिलिपिन्सलाई ९ विकेटले पराजित गरेको थियो । 

८१ रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालका कुशलले अविजित ३४ र दीपेन्द्रसिंहले अविजित २७ रन बनाए । दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि ५८ रनको अविजित साझेदारी गरे । आसिफ शेखले १७ रन बनाए । कुशल मल्ल शून्यमा पवेलियन फर्किए । 

क्यानडाका कलीम सना र सलमान नजरले एक एक विकेट लिए । 

त्यसअघि नेपालका कप्तान सन्दीप लामिछानेले चार ओभरमा १२ रन दिएर तीन विकेट लिए । कमलसिंह ऐरी र अभिनाष बोहराले दुई विकेट लिए । कुशल मल्लले एक विकेट लिए । क्यानडाका कप्तान नवनितले १८, रायन पठानले १४, सलमान नजरले १० र डिलन हेलिगरले अविजित २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो ६ ओभर सकिँदा नेपालले चार विकेट लिएको थियो । ‘पावर प्ले’ सकिँदा क्यानडा ३९(४ को स्थितिमा थियो । नेपालका कमलसिंहले दुई र अभिनाषले एक विकेट लिएका थिए । 

कमलसिंहले पहिलो ओभरको पाँचौँ बलमा म्याथ्यु स्पूर्स शून्यमा पवेलियन फर्काएका थिए । कमलसिंहले पाँचौँ ओभरको तेस्रो बलमा नवनितलाई लोकेश बमको हातबाट क्याच गरे । 

ओपनर रायन पठान छैटौँ ओभरको दोस्रो बलमा रन आउट भए । सोही ओभरको अन्तिम बलमा एक रन बनाएका रविन्दरपल सिंहलाई अभिनाषले विकेटकिपर आसिफ शेखमार्फत क्याच गरे । सातौँ ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले एक रन बनाएका हम्जा तारिकलाई बोल्ड गरे । लगत्तै साद विन जफर दुई रन बनाएर रन आउट भए । 

नवौँ ओभरको अन्तिम बलमा कलीम सानालाई सन्दीपले कुशल मल्लमार्फत क्याच गरे । दसौँ ओभरको पहिलो बलमा कुशलले हर्ष ठकरलाई एलबीडब्यू आउट गरे । ११औँ ओभरको पहिलो बलमा सन्दीपले जुनैद सिद्धिकीलाई विकेटकिपर आसिफमार्फत क्यच गरे । 

नेपालले आज फिलिपिन्सविरुद्धको टिममा एक खेलाडी परिवर्तन गरेको थियो । गुल्शन झाको स्थानमो कमलसिंह ऐरी टिममा फर्किएका थिए ।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले हराएको थियो । क्यानडाले फिलिपिन्सलाई ११८ रनले हराएको थियो भने ओमानसँग ९ विकेटले पराजित भएको थियो ।