देश बचाउन वृद्धा महिलाहरु पनि हातमा बन्दुक लिइ तयारी अवस्थामा: युक्रेन


देश बचाउन वृद्धा महिलाहरु पनि हातमा बन्दुक लिइ तयारी अवस्थामा: युक्रेन

अलजजिरा- रुसका राष्ट्रपति भलाद्मीर पुटिनले उक्रेन कब्जा गर्न आदेश दिए, आफ्नो देश बचाउनका लागि रुसी सेनासँग लड्न तयार रहेको ७९ वर्षीया भेलेन्टीना बताउँछिन् । उनी वास्तवमा ‘बबुस्काज’ आर्मी अर्थात वृद्ध महिलाहरुको सैन्य समुहमा पर्दछिन् । यो समुहले २०१४ देखि नै ट्रेन्चहरु खन्नेदेखि आपूर्ति ओसार्ने, नेट बनाउने, मेडिकल हेरचाह र लुकआउट टावर समेत निर्माण गर्दै आएका छन् । 

रुससँगको तनाव अत्यन्तै चरम बिन्दुमा पुगेका बेला महिलाहरु पनि आफ्नो राष्ट्रभूमी बचाउन आफ्नो तर्फबाट सबै किसिमको प्रयास गर्न अघि बढिरहेका छन् । 

भेलेन्टिना भन्छिन्, “म मेरो शहरलाई धेरै माया गर्छु र छोडेर जानेछैन । पुटिनले हामीलाई डर देखाएर भगाउन सक्दैनन् । हो अहिलेको अवस्था भयावह छ तर पनि हामी अन्तिम घडिसम्म युक्रेनको रक्षाका लागि उभिरहनेछौँ । ”

हाल भेलेन्टिनाको शहरका वासिन्दालाई आफ्नो प्रतिरक्षा गर्न र युद्ध भइहालेमा त्यसको तयारीका लागि विभिन्न प्रशिक्षण दिइराखिएको छ । सो ट्रेनिङमा मेडिकल उपचार, प्रतिरक्षा र ठाउँ खालि गर्न, हतियार सुरक्षा अनि बन्दुक चलाउन पनि सिकाइएको छ । आठ वर्षमा पहिलोपटक यस्ता सुरक्षा र चेतनामूलक ट्रेनिङ प्राप्त गरेको त्यहाँका वासिन्दाहरुले बताएका छन् । 

एके–४७ राइफल हातमा बोकेर टार्गेटमा हान्ने अभ्यास गरिरहेकी भेलन्टिना भन्छिन्, “मेरो २०१४ देखि नै बन्दुक चलाउने सपना थियो । तर हामीलाई सधैँ ‘तिमी यसका लागि धेरै बूढी छौ र रिकोइल हुनासाथ आफैँ पछारिन्छौ बबुस्का’ भनेर धपाइने गरिन्थ्यो ।” 

६५ वर्षीया लिउडमिलाले २०१५ मा उग्रवादीसँगको लडाईँमा आफ्ना एक आफन्त गुमाएकी थिइन् । त्यसै समयदेखि आफूले युद्धमा जाने युवा पुरुषहरुप्रति बलियो भाव राख्दै आएको बताइन् । यसकारण पनि आफूले सक्नेजति सहयोग गर्ने निर्णय लिएको उनको भनाइ छ । 

उनी भन्छिन्, “हामी वृद्ध भएपनि २०१४ देखि नै बटालियन अन्र्तगत खन्नेदेखि फिल्ड बेस सेट–अप सम्मका काम गरेका छौँ । हामीले सिरक, तकिया, प्लेट सबै दान गरेका छौँ । आफूले सक्नेजति सबै आवश्यक सामग्री बोकेर ल्याएका छौँ । सेनाको मद्दत गर्न खोज्दैगर्दा अहिले उनीहरु हाम्रा आफ्नै छोराछोरी जस्तो लाग्न थालेका छन् । यदि उनीहरु मध्ये एकजनाको पनि मृत्यु हुँदा हामीलाई आफ्नै बच्चा गुमाए जत्तिकै पीडा हुनेछ ।”

 

उनले थप भनिन्, “त्यसैले म रुससँग लड्न तयार छु । म हातैले मुक्का हान्नुपरे पनि अगाडि बढ्नेछु । उनीहरु हाम्रा कोही होइनन् । ”  
१२खरिबाट