१०२ बर्षीय बृद्धलाई आलोपालो बोकेर अस्पताल पुर्‍याउने प्रहरी जवान पुरस्कृत


लेखक : लेखापढी      ५ फाल्गुन २०७८, बिहीबार १०:०७ मा प्रकाशित     
१०२ बर्षीय बृद्धलाई आलोपालो बोकेर अस्पताल पुर्‍याउने प्रहरी जवान पुरस्कृत

रूकुम पश्चिमको सर्केना प्रहरी चौकी खोलागाउँका प्रहरी जवान स्वयमं प्रकाश हमाल र दलबहादुर बुढा मंगलबार बिहान दश बजेतिर पैदल गस्तिमा निस्किए। 

बाटोमा उनीहरूले एक जना जेष्ठ नागरिक हिँड्न नसकेर भुँइमै थुचुक्क बसेको अवस्थामा भेटे।

उनी चौरजहारी नगरपालिका वडा नं. ११ का १०२ वर्षीय जसबीर वली थिए। हमालले वलीलाई सोधे- ‘बुवा तपाईँ किन यहाँ बस्नु भा छ र कहाँ जान लागेको हो?’

 

वलीले आफू अस्पताल जान थालेको तर निकै कठिन भइरहेको बताए। हमालका अनुसार वली केही बेर खोच्याउँदै हिँड्थे र फेरि सुस्ताउँथे। उनी आँखा पनि कम देख्थे। तर, एक्लै हिँडिरहेका थिए। 

त्यसपछि हमाल र बुढाले सल्लाह गरे। आलोपालो पिँठ्यूमा बोकेर अस्पताल पुर्‍याइदिउँ। 

बिहान १०ः४५ बजेतिर प्रहरी जवान हमाल र बुढाले वलीलाई भेटेका थिए। उनीहरुले आलोपालो पिठ्युमा बोकेरै वलीलाई चौरजहारी १० स्थित सहिद स्मृति अस्पताल पुर्‍याए। 

 
 

‘हामी दुई जना मात्रै नियमित गस्तिमा थियौं,’ हमालले सेतोपाटीसँग भने ‘बुवालाई त्यसरी बाटोमै बेसाहारा भइ ढेलेको देखेर मनले मानेन र उहाँकै चाहाना अनुसार अस्पताल पुर्‍यायौं।’

चौरजहारी ११ का वडाध्यक्ष मनमोहन शाहले दुई प्रहरी जवान हमाल र बुढाले पिठ्यूमा बोकेर जेष्ठ नागरिक वलीलाई अस्पताल पुर्‍याउँदै गरेको तस्बिर आफ्नो  फेसबुक वालमा राखेका छन्। 

शाहले तस्बिर राखेपछि प्रहरी जवान हमाल र बुढाको धेरैले तारिफ गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक डेकेन्द्र शर्माले त्यो तस्बिर देखेर कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी गणेशबहादुर ऐरले फोन गरि धन्यवाद दिनुका साथै दुबै प्रहरी जवानलाई जनही एक हजार पाँच सयका दरले पुरस्कार प्रदान गरेको जानकारी दिए। 

नागरिकप्रतिको प्रहरी विश्वास बढाउन सहयोग गरेको तथा असल काम गरि सबै प्रहरीको उत्साह बृद्धि गरेको भन्दै डिआइजी ऐरले उनीहरुलाई बधाई दिँदै पुरस्कृत गर्न आदेश दिएको शर्माले सेतोपाटीलाई जानकारी दिए।
सेतोपाटिबाट