राप्रपा अध्यक्ष लिङ्देन र कमल थापाबीच भेटवार्ता


राप्रपा अध्यक्ष लिङ्देन र कमल थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

पार्टीको महाधिवेशनमा निर्मल निवासले ठाडो हस्तक्षेप गरेको भन्दै निवर्तमान अध्यक्ष थापाले यसबारे पार्टी केन्द्रीय कार्यसमितिमा छलफल गर्न माग गर्दै आएका छन् । आफ्ना मागलाई बेवास्ता गरे पार्टी दुर्घटनामा पर्न चेतावनी दिएपछि राप्रपा अध्यक्ष लिङ्देन शनिबार थापाको निवासमा पुगेका थिए ।

भेटमा थापाले उठाएको विषयमा छलफल भएपनि कुनै ठोस सहमति नभएको नेताहरु बताउँछन् ।

आइतबार हालै मनोनित पदाधिकारीहरुलाई पार्टीको केन्द्रीय कार्यालयमा स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले उठाएको विषयमा छलफल भइरहेको बताए । ‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन,’ उनले भनेका छन्, ‘निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा हामी छलफलमा छौं, र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुंगोमा पुर्‍याउँछौं ।’