एमसीसी चुनावपछि अघि बढाऔँ- प्रचण्डको प्रस्ताव, ओली आफ्नै अडान जारि


लेखक : लेखापढी      २४ माघ २०७८, सोमबार ०३:४० मा प्रकाशित     
एमसीसी चुनावपछि अघि बढाऔँ- प्रचण्डको प्रस्ताव, ओली आफ्नै अडान जारि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव पछिमात्र एमसीसी अघि बढाउन प्रस्ताव गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको छलफलमा प्रचण्डले एमसीसी चुनावपछि अघि बढाउन प्रस्ताव गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनकाअनुसार प्रचण्डले एमालेलाई संसद् खुलाउन आग्रह पनि गरेका थिए ।

“उहाँ (प्रचण्ड)ले प्रतिपक्षले सदन सञ्चालन गर्न सहयोग गरोस् भन्नुभयो । उहाँले संयुक्त रूपमा चुनावपछि मात्र एमसीसी अघि बढाऔँ भनेर आग्रह गर्नुभएको थियो,” प्रचण्डको भनाइ उद्धृत गर्दै पोखरेलले भने ।

प्रधानमन्त्री देउवाले भने एमसीसी पारित गर्न सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए ।

छलफलमा एमालेले एसीसीलाई पठाएको पत्रबारे पनि प्रश्न उठाएको थियो । एमालेले नेपाली नागरिकलाई एउटा कुरा भन्ने तर अन्तर्राष्ट्रिय समुदायलाई अर्कै कुरा भनेर प्रकारको द्वैध चरित्र सत्ता गठबन्धनले देखाएको भनी प्रश्न गरेको थियो । 

त्यसबारे देउवाले आफू सधैँ एमसीसीको पक्षमा रहेको बताएका थिए । प्रचण्डले पनि आफूले पत्र नलेखेको भनेर प्रतिवाद नगरेको बताएको महासचिव पोखरेलले बताए ।

“प्रचण्डजीले पनि मैले त त्यसो भनेको छैन भनेर भन्नुभयो । पत्र नलेखेको भनेर मैले प्रतवाद गरेको छैन भन्नुभयो,” प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, “तर तपाईं हामी सबै जानकार छौँ । सत्ता गठबन्धन यसमा स्पष्ट छैन ।”

आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डको हस्ताक्षरमा एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो ।

जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे पहिले सत्ता गठबन्धन स्पष्ट हुनुपर्ने बताएका थिए । उनले सत्ता गठबन्धन स्पष्ट भएमा आफूहरू एमसीसीबारे निर्णय गर्ने बताए ।

उनले सदन सञ्चालनका लागि आफूहरूले राख्दै आएका मागहरू पूरा हुनुपर्ने बताएका थिए । 

एमालेले माधव नेपालसहित १४ जनालाई कारबाही गरेको सूचना टाँस नगरेको भन्दै सदन अवरोध गर्दै आएको छ । ओलीले छलफलमा स्थानीय चुनावको मिति तत्काल सार्वजनिक गर्नुपर्ने पनि बताएका थिए । जवाफमा प्रधानमन्त्रीले मन्त्रपरिषद्को निर्णयबाट चाँडै मिति तोकिने आश्वासन दिएका थिए ।
-१२खरिबाट