सीएनएन- हाल विश्वभर व्याप्त अधिक संक्रमित मानिएको कोरोना भाइरसको ओमिक्रोन भेरियेन्टको नयाँ भर्जन यतिबेला वैज्ञानिकहरुको केन्द्रमा आएको छ । तर विज्ञहरुले ‘बीए.२’ नामक ओमिक्रोनको नयाँ भर्जन चिन्ताजनक नभएको बताएका छन् । त्यसैले यसलाई लिएर आत्तिनु नपर्ने उनीहरुले बताए ।
यो नयाँ भर्जन नोभेम्बरको बीचतिर नै पत्ता लागेको थियो र अहिलेसम्म४९ मुलुकमा फैलिसकेको छ ।
ओमिक्रोनका भर्जनहरु मध्ये यसले नै अहिले एकदम बढी नयाँ संक्रमितहरु पैदा गरिरहेको छ । बीए.२ को जिनमा पनि अधिक परिवर्तनहरु देखा परेका छन् जुन स्पाइक प्रोटिनमा केन्द्रित छ । र हामीले हाल प्रयोगमा ल्याइरहेको खोपले भाइरसको त्यही भागलाई हमला गर्दछ ।
तर ओमिक्रोन भन्दा फरक यो ल्याब परीक्षणमा सजिलै देखा पर्दैन । यसकारण पनि यो भेरियेन्टलाई चतुर भनिएको छ । तर यही नाम दिइँदा यसले मानिसहरुमा अनावश्यक द्विविधा उत्पन्न गराएको नर्थवेस्र्टन युनिभर्सिटी सिकागोका प्रोफेसर रेमन लोरेन्जोले बताए ।
उनी भन्छन्, “यसले एकदमै गलत सन्देश दिइरहेको छ । किनकी वास्तवमा एफडीएले स्वीकृति गरेको ल्याबमा आधारित परीक्षण र साथै घरमै परीक्षण गर्दा पनि यो भर्जन सहित ओमिक्रोनका सबै भर्जन देखिनु पर्छ । ”
त्यस्तै बीए.२ ले ओमिक्रोन भन्दा गम्भीर बिरामी बनाउने या सजिलै छिटै सर्ने संकेत पनि देखाएको छैन ।
बिहिबार बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले सार्वजानिक गरेको रिपोर्टले थप सुनिश्चित गराउँदै हालका सबै खोपहरुले बीए.२ विरुद्ध काम गर्ने बताएको छ । सुरुवाती ओमिक्रोन भेरियेन्ट जस्तैगरी यसले पनि कोभिडका सबै लक्षण विरुद्ध राम्रो सुरक्षा दिलाउन सक्ने जस्तै औसतमा बुस्टर खोप लगाएको दुई हप्तापछि ७० प्रतिशत सुरक्षा दिलाउन सक्छ ।
डेनमार्कमा हाल सक्रिय आधा भन्दा बढी बिरामीमा यही बीए.२ भर्जनको भेरियेन्ट छ । त्यस्तै बिहीबार भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सुजित कुमार सिंहले बीए.२ स्ट्रेन नै हाल भारतभर व्याप्त रहेको बताए । यता बेलायत र दक्षिण अफ्रिकामा पनि देखा परिसकेको छ ।
वैज्ञानिकहरुले ओमिक्रोनको नयाँ भर्जन आउनु कुनै आश्चर्यको कुरा नभएको बताएका छन् । उनीहरुले यसलाई देशका आधा जनसङ्ख्या भन्दा बढीले खोप नलगाउँदाको नतिजा भएको बताइरहेका छन् । जबसम्म सबैले समान रुपमा खोप पाउँदैनन् तबसम्म कोरोनाका नयाँ भेरियेन्ट उत्पन्न भइरहने विज्ञहरुले यसअघि पनि धेरैपटक चेतावनी दिइसकेका छन् । यसकारण नै विश्व स्वास्थ्य संगठनले पनि खोप समानता सुनिश्चित गर्नु अत्यन्तै जरुरी रहेको बताउँदै आएको छ ।
–१२खरीबाट