अनलाइन जुवा बिङ्गो प्रकरणमा मुख्य सञ्चालक फरार, मेनेजर पक्राउ


अनलाइन जुवा बिङ्गो प्रकरणमा मुख्य सञ्चालक फरार, मेनेजर पक्राउ

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित प्लटिङमा रहेको एक रेष्टुरेण्टमा प्रहरीले छापा मारेर अनलाइन जुवा ‘बिङ्गो’ खेल्ने ७४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिङ्गो सञ्चालक वीरेन्द्र मानन्धर छन् । काठमाडौं महानगरपालिका–६ घर भएका मानन्धर मोवाइलमा बिङ्गो एप्स डाउनलोड गरेर खेलिने सो अनलाइन जुवाका मेनेजर हुन् । मुख्य सञ्चालकचाहिँ फरार छन् ।

मानन्धर सहित रेष्टुरेण्टमा बसेर खेल्ने ७४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले रातोपाटीलाई बताए । रेष्टुरेण्टका सञ्चालक सुवास घिसिङ हुन् । कोभिड–१९ प्रोटोकल वेवास्ता गरेर रेष्टुरेन्टमा ७४ जनालाई प्रवेश अनुमति दिने उनीचाहिँ फरार छन् ।

जुवा खेलाडीहरुलाई बिङ्गो एप्समार्फत वीरेन्द्र मानन्धरले अपरेट गरेको सुराकको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धको टोली सो रेष्टुरेण्टमा पुगेको थियो । बिङ्गो खेल्नुअघि १५ वटा नम्बर भएको टिकट काट्नुपर्छ । बिजेतालाई खेलाउने व्यक्तिले निश्चित रकम पुरस्कार दिन्छन् ।

बिजेताले कति पुरस्कार पाउँछन् भन्ने पहिले नै तोकिएको हुन्छ । बिङ्गो खेल्ने र खेलाउनेलाई जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । –रातोपाटिबाट