श्रम मन्त्रालयको कल सेन्टर अब २४ घण्टा नै खुला


श्रम मन्त्रालयको कल सेन्टर अब २४ घण्टा नै खुला

काठमाडौं । सरकारले वैदेशिक रोजगारसहित श्रम सम्बन्धी सबै गुनासो सुन्ने सहायता कक्ष (कल सेन्टर) बाट २४ घण्टा नै सेवा दिने भएको छ । सिंहदरबारभित्रै २०७५बाट आधुनिक प्रविधिसहितको सहायता केन्द्र सञ्चालनमा  छ ।

सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै रहेको कल सेन्टरको २४ घण्टा विस्तार भएको सेवाको आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेवाको उद्घाटन गरे ।

कामका लागि विदशिने र विदेशिन चाहने नोपाली समस्याको सुनुवाई गर्न सहायता कक्षमा फोनबाट मात्रै नभएर फेसबुक, भाइबर, इमो, हृवाट्सएप लगायतबाट पनि उजुरी दर्ता गर्न सकिन्छ ।

वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा, वैदेशिक रोजगार बोर्ड लगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा एवम् कार्यक्रमहरू जानकारी लिन, सुझाव दिन वा गुनासो गर्न यो सेवा प्रयोग गर्न सकिन्छ । सिधै फोन वा इमेल, भाइवर, इमो, मेसेन्जर आदि सामाजिक सञ्जालमार्फत् सिधै सम्पर्क गर्ने सकिने गरी मन्त्रालयमा कल सेन्टर चलिरहेको छ ।

११४१ नम्बरमा डायल गरी जोकसैले कल सेन्टरको उपयोग गर्न सक्नेछन् । प्रयोगकताहरूका लागि यो नम्बरमा डायल गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ भने एनसेल प्रयोगकर्ताहरूलाइ समेत निशुल्क हुने गरी व्यवस्था गरिँदैछ ।

पछिल्लो समयमा विदेश जाने क्रममा र विदेशमा रोजगारीकै क्रममा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ ।

सहायता केन्द्रको सेवा विस्तारपछि विदेशमा समस्या भोगेकाहरुले सरकारसमक्ष २४ घण्टा नै सीधै टेलिफोन वा आधुनिक म्यासजिङ एपमार्फत आˆना गुनासा र उजुरी दर्ता दर्ता गर्न सक्नेछन् । यसैका आधारमा सरकारले आवश्यक सहयोगका लागि पहल तथा उद्धारका लागि प्रक्रिया अघि बढाउनेछ ।

यस्ता उजुरी र कामदारको समस्यालाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गर्छ ।

म्यानपावर र दलालहरुले नक्कली भिसामा लगेर छोड्नेदेखि आश्वासनभन्दा फरक र जोखिमयुक्त प्रकृतिको काममा लगाएका कारण धेरै नेपालीहरु विदेशमा समस्यामा पर्ने गरेका छन् । काम छोड्ने, काम गर्न नसक्ने लगायत रोजगारदाताले यातना दिएका कारण कारण अलपत्र पर्नेहरु पनि उल्लेख्य छन् ।

विदेशबाट नेपालीको गुनासो अभिलेखीकरण गरेर आवश्यक उद्धार प्रक्रिया थालिहाल्ने योजना बनाइएको छ । यसैगरी सो डेस्कलाई नेपालमा विदेशिने क्रममा युवाहरुले भोग्नु परेका समस्यको पनि सुनुवाई गरिने मन्त्री श्रेष्ठले बताएका छन् ।

अहिले पनि कल सेन्टरमा उद्धारको आग्रह गर्दै फोन गर्ने गरेका छन् । तर, त्यसको सुनुवाई भने राम्रोसँग हुन भने सकेको छैन । श्रम स्वीकृतिका लागि पेश गरिने कागजातहरु झुटा हुने समस्याले वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेका छन् ।

विदेशी भूमिमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश फर्कन कठिन हुने, कतिपय अवस्थामा जेल-सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनुपर्नेसम्मका समस्या पनि नेपाली कामदारले भोगिरहेका छन् । यसैगरी फ्रि भिसा कामदारसँग भनिएपनि मनलाग्दी शुल्क उठाउने समस्या पनि चर्को छ । यस्ता समस्यामा पर्नेहरुलाई अब सरकारी तबरबाट सहयोग दिने गरी सहायता केन्द्रलाई सुधार गरिएको मन्त्रालयको दावी छ ।
-अनलाइनखबरबाट