रमेश पन्त “मीतबन्धु”को संस्मरण, हौसला दिने र परीक्षा लिने भाइसाब सर


रमेश पन्त “मीतबन्धु”को संस्मरण, हौसला दिने र परीक्षा लिने भाइसाब सर

दरणीय अभिभावक भाइसाब सरको टीममा महासचिव भएर कार्य गर्ने अवसर प्राप्त भएको थियोे मलाई । भाइसाब सर भनेरै उहाँलाई सम्बोधन गर्ने गरेको थिएँ । उहाँले शिक्षण पेशामा लामो समय बिताउनु भएकोले पनि हुनुपर्छ, धेरैजसोले उहाँलाई सर भनेरै सम्बोधन गर्ने गरेको पाइन्थ्यो ।

महाकाली साहित्य सङ्गमको १४ औं केन्द्रीय महाधिवेशन (२०६३÷०९÷१५) बाट उहाँ अध्यक्षमा निर्वाचित भएपश्चात् लगभग तीन वर्षको धेरैजसो समय उहाँकै साथसंगतमा व्यतित गर्ने मौका मिलेको थियोे मलाई । उहाँसँग व्यतित समयका थुप्रै संस्मरणहरू स्मृतिपटलमा झल्झली आइरन्छन् । उहाँको अध्यक्षतामा बृहत् कवि गोष्ठी, सुदूरपश्चिमका साहित्यकारहरूका कृतिहरूको प्रदर्शनी, जनचेतनामूलक साहित्यिक यात्रा, विभिन्न साहित्यकारहरूका जन्मजयन्ती मनाउने, सहिद दिवस मनाउने श्रद्धाञ्जली सभाको आयोजना गर्ने, नाटक प्रदर्शन गर्ने, लोकसंस्कृति प्रदर्शन गर्ने लगायतका थुप्रै कार्यक्रमहरू सम्पन्न गरेका थियौँ । यहाँ म उहाँको संस्मरणमा एउटा सानो प्रसंग मात्र कोट्याउने जमर्को गरिरहेको छु ।

कसैमा विश्वास गर्नुपुर्व त्यसको बारेमा राम्रोसँग बुझ्ने बानी भएका भाइसाब सर भलादमी व्यवहारका साहित्यकार हुनुहुन्थ्यो । शिक्षा, लोकभाषा, साहित्य र संस्कृति तथा मानवअधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने भाइसाब युवा पुस्ताका प्रेरणाका स्रोत हुनुहुन्थ्यो, । एक सच्चा अभिभावक हुनुहुन्थ्यो । भाइसाब सरको अध्यक्षतामा बि.सं २०६३ साल फागुन २२ गते वरिष्ठ कवि साहित्यकार मोहन कोइरालाको तेह्रौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरेका थियौं । भाइसाब सर भन्नुहुन्थ्यो “मोहन कोइरालाका कविता पढ्नु भनेको फलामको च्युरा चबाउनु जस्तै हो ।”

कार्यक्रमपश्चात् मेरै घरबाट आउनुहोला भनेर उहाँ हिँड्नुभभो । उमेरमा मभन्दा धेरै सानो तर बुद्धिमा अब्बल भाइसाब सरको विद्यार्थी संयोगले उहाँकै कार्यसमितिमा सदस्य रहेको युवा ठिटो हेमबाबु लेखकलाई लिएर म भाइसाब सरको घरतिर लागेँ । भाइसाब सर बाटो हेरेर पर्खिनु भएको रहेछ । हामीलाई देख्नेबित्तिकै उहाँ मुस्कुराउनुभयो र भन्नुभयो – “ए हे पुग्नुभयो त ? लौ लौ बसौ भित्रै बसौं ।” भन्दै

हामीलाई बैठक कोठामा लग्नुभयो ।
एकैछिनको सन्नाटापछि उहाँ फेरि मुस्कुराउनु भयो र भन्नुभयो – “तपाईं युवाहरुले एउटा कार्य गर्नुपर्याे, ऐतिहासिक कार्य ।”

–“सकेसम्म हजुरको सल्लाह र सहयोग पाए गरौंला सर अवश्य ।” भन्दै हामी दुवैले जवाफ फर्कायौ ।

–“सानातिना नियमित र आकस्मिक कार्यक्रमहरू त हुने गर्छन् । हामीले महत्वपूर्ण र रचनात्मक काम गर्नुपर्छ । धेरै पहिले ५६ सालतिर हो कि कहिले सङ्गमले सङ्गम साँझ मनाएको थियो, त्यसपछि मनाउन सकेको छैन्, तपाईं युवाहरुले जुरमुराउनुपर्याे । के हामी मनाउन सक्छौ कि ?” भनेर उहाँले जिज्ञासा राख्नुभयो । हामीलाई हौसला दिएर

“अरु साथीहरुलाई पनि भन्नुहोस्, म पनि भन्छु, नयाँ वर्षको पूर्वसन्ध्यामा मनाउन पाए साह्रै राम्रो हुनेथियो ।”

उहाँले थप्नुभयो “खटिन सक्नुहुन्छ भने अर्को बैठकमा प्रस्ताव ल्याउनुहोला ।”
हामीले “हुन्छ सर ! हजुरको अभिभावकत्व पाए अवश्य हामी सफल हुनेछौं ।” भनेर उहाँलाई विश्वास दिलाएर फर्कियौं ।

गफगाफकै क्रममा चिया पिएको पत्तै लागेन् । भोलिपल्ट उहाँले मलाई फेरि भेट्नको लागि आदेश दिए अनुसार म भेट्न गएँ । उहाँले सङ्गम साँझ कसरी मनाउने भनेर ब्रिफिङ गर्नुभयो । कार्यक्रममा आफ्नो नाटक “चेलीको परायो घर” प्रदर्शन गर्ने कुरा गर्नुभयो । नाटकको एकप्रति अध्ययनको लागि मलाई दिनुभयो । मैले सरसर्ती पढेर राम्रो सन्देशमुलक भएको कुरा व्यक्त गरेपछि उहाँ मुसुक्क मुस्कुराउनु भयो । “तपाईँले यसलाई सिरियसली लिनुपर्याे । कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नुपर्ने हुन्छ । कार्यक्रमको नमुना बनाएर ल्याउनु होला ।”

उहाँले यति भनिसकेपछि मैले साँच्चिकै सिरियस भएर आफुलाई जस्तो राम्रो लाग्थ्यो, त्यस्तो कार्यक्रमको नमुना तयार गरेर उहाँलाई दुई तीन दिनपछि देखाउन लगेँ । उहाँले एकछिन घोत्लिएर कार्यक्रम हेरेपछि अचम्मित भएर तर मुस्कुराएर भन्नुभयो –“तपाईं आफैले बनाउनु भएको हो कि ? कार्यक्रम” । मैले “ हजुर सर ।” भनेपछि उहाँको अनुहार पढ्न खोज्दा कार्यक्रम सफल हुने कुरामा ढुक्क भएको अनुभुति पाएको थिएँ । उहाँले आफ्नो नाटकको लागि आफैले पात्रहरू छान्नुभयो । निर्देशन पनि आफैले गर्नुभएको थियोे । उहाँकै शब्दमा भन्नुपर्दा निम्न मध्यम वर्गले भोग्नु परिरहेका कष्टहरुको कथाव्यथा, ग्रामीण समाजमा बुहारीले भोग्नु परिरहेका कथाव्यथा, एउटा सभ्य बुहारीले असभ्य सासुलाई पनि सहि बाटोमा ल्याउनसक्ने अवस्थाको सन्देश बोकेको नाटकमा लोग्ने परदेश भएका बेला महिलाले भोग्नुपर्ने पीडा र दुःख अभिव्यक्त गरिएका थिए । टिकट शो रहेको कार्यक्रमका लागि दुईतीन दिन उहाँ आफै टिकट बिक्री गर्न खट्नु भएको थियोे भने हप्तौंसम्म अरु स्रष्टाहरूको टोली खटिएको थियो ।

सङ्गमसँग आबद्ध सम्पूर्ण सदस्यहरू लगायत महेन्द्रनगरका अन्य कलाकार र साहित्यकारहरूको भेला नै बोलाएर कार्यक्रमबारे जानकारी गराउँदै अनिवार्य उपस्थिति र सहयोगका लागि अनुरोध गरेका थियौं । कञ्चनपुर उद्योग वाणिज्य संघको हलमा उल्लेख्य उपस्थिति सहित २०६३ साल चैत ३० गते कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको थियो । सबैतिरबाट राम्रो प्रतिक्रिया पाएको कार्यक्रम पश्चात उहाँले मलाई बोलाएर यस्तो भन्नुभएको थियोे “महासचिवजी ! तपाईं परिक्षामा सफल हुनुभयो, तपाईँंहरूले सक्नुभयो, ऐतिहासिक काम गर्नुभयो, सबैको सहयोगबाट कार्यक्रम सफल भयो । तपाईँं लगायत सबैलाई धन्यवाद छ ।” कार्यक्रमबाट संकलित रकम खर्च कटाएर संस्थाको कोषमा जम्मा गरिएको थियो । त्यसयता महेन्द्रनगरमा त्यस्ता कार्यक्रमहरु विरलै हुनेगरेका छन् । यसरी उहाँ कार्यक्रम सफल पार्न दत्तचित्त भएर लाग्नुहुन्थ्यो । हामीहरुलाई कार्यक्रम गर्ने हौसला पनि दिनुहुन्थ्यो र परीक्षा पनि लिनुहुन्थ्यो । सधैं मुस्कुराइरहने स्रष्टा आफ्ना कृतिहरूमा चिरकालसम्म मुस्कुराइरहनुहुनेछ । आदरणीय प्रेरणादायी अग्रजको सम्झना मनमस्तिष्कमा रहिरहने छ, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली !

(वासुदेव भाइसाब पश्चिम नेपालको साहित्यिक आन्दोलनका एक वरिष्ठ स्रष्टा हुनुहन्थ्यो । आज उहाँको निधन भएको १५ औं तिथिमा उहाँसगँ महाकाली साहित्य संगममा रहेर कार्य गर्नुभएका अहिलेका समयमा प्रतिभाशाली स्रष्टा रमेश पन्त मितबन्धुको संस्मरणात्मक आलेख ।)