जगदीश ओझाको संस्मरण, भाषा, साहित्य र संस्कृतिका हस्ति भाइसाब


जगदीश ओझाको संस्मरण, भाषा, साहित्य र संस्कृतिका हस्ति भाइसाब

“हजारी ओइलन्या बेला पानि छम्कला कि ?
एक घुटका बाटुलि लौलो मुइलै सम्जला कि ?”

लोकसाहित्य शिर्षकको लेखमा बासुदेव भाइसाबद्वारा नै उधृत लोकगीतको यो अंश अब उनैप्रति समर्पित गर्नुपर्ने भएको छ । सुदूरपश्चिमको साहित्यिक फाँटका हजारी फूल भाइसाब (२०००÷३÷१५–२०७८÷९÷२५) प्रति हार्दिक शब्द श्रद्धान्जली ।

सुदूरपश्चिमलाई राष्ट्रिय मूलधारसंग जोडने विभिन्न व्यक्तिहरू मध्ये भाषा, साहित्य र सांस्कृतिक क्षेत्रमा निरन्तर खटिएर योगदान दिने एक हस्ति वासुदेव भट्ट भाइसाब पनि हुन । आफ्नो जीवनकालमा बहुआयामिक तवरले सक्रिय रहँदै मूलतः शिक्षा, भाषा, साहित्य, मानवाधिकार एवम् सास्कृतिक फाँटमा भाइसाबको योगदान र भूमिका प्रशंसनीय छ ।

भाइसाब लामो समयसम्म शिक्षासेवामा रहँदै माध्यमिक विद्यालय निरिक्षक, शिक्षक, प्रशिक्षक मात्रै नभएर सिद्धनाथ बहुमुखी क्याम्पसका अध्यक्ष तथा सुदुरपश्चिम विश्वविद्यालय स्थापनाकालका अगुवाका रूपमा भूमिका निर्वाह गरे । भाषा, साहित्य, संस्कृतिको संरक्षण, खोज, प्रकाशनसँगै प्रगतिशील चेतनाको प्रसारमा सक्रिय रहँदै गर्दा महाकाली साहित्य संगमको स्थापना, रैबार, संगम मलासिनी पत्रिका सम्पादन, मानवाधिकारका संस्था इन्सेक, ह्युपेक,  बुद्धिजिवी परिषदका माध्यमबाट सामाजिक सेवामा अग्रमोर्चामा रहँदै निर्वाह गरेको भूमिका सराहनीय छ । नेपाल प्रज्ञा प्रतिष्ठान,  प्राज्ञसभा  सदस्य भएर सुदूरपश्चिमको प्रतिनिधित्व गर्नु आफैमा अत्यन्तै महत्वपूर्ण छ ।
भाइसाबको लेखन यात्रा वि सं २०२२ सालबाटै सुरू भएको र वि सं २०३१ देखि २०७३ सम्मको लामो प्रकाशन यात्रामा उनका एक दर्जन बढी कृति प्रकाशित भएका छन् । प्रकाशनकै क्रममा उनका सयौं लेख, कविता, गोष्ठी पत्रहरू फुटकर रूपमा गुगुल्डि, आफन्त, संगम, अभिवादन, रामराज्य, प्याउली, घुगुति लगायतका थुप्रै पत्रपत्रिकाहरूमा फुटकर रूपमा छापिएका छन भने थुप्रै संकलन तथा लेखन अप्रकाशित रूपमा रहेका छन । भाइसाबका प्रकाशित कृतिहरू यसप्रकार रहेका छन्–

१. डोके कविता संग्रह २०३१÷३२
२. संस्मरण उपन्यास २०३८
३. सफर उपन्यास÷निङ्गालाका छतरिहरू २०४३
४. डोट्याली कोष लोकोक्ति खण्ड २०५१
५. गोरा चैतालो खण्ड नाटिका २०५५
६. माघि नाटक २०५७
७. खुद्यौडाका बातै डोट्याली दन्त्यकथा २०५८
८. डोट्याली लोक संस्कृति र लोक साहित्य २०६१
९. सुदूर पश्चिम डोटी प्रदेशका लोक गाथा अवलोकन २०६३
१०. गौकि स्वराइ कविता संग्रह २०६४
११. थारू लोक साहित्य परिचय कोष २०६५
१२. डोट्याली कोश लोकोक्ति खण्ड द्वितीय संस्करण २०६६
१३. डोटी प्रदेशको लोक वाङमय कोश २०६७
१४. सु प का प्रमुख दर्शनीय स्थल २०६७
१५. ओइलाएका फूलहरू २०७०
१६. यात्रा संस्मरण २०७३

यसरी उनमा निरन्तरको खोज, संकलन, लेखन तथा प्रकाशन सँगसँगै बौद्धिक तथा सामाजिक नेतृत्व तथा पारिवारिक घरव्यव्स्थामा समेत समान रूपले समय व्यवस्थापन गर्न सक्ने खुबी थियो । नेपाली तथा डोटेली भाषा संस्कृति सँगै राना,थारू एवम् सौका भाषा संस्कृतिलाई पनि आफ्नै खोज तथा लेखनको दायरामा समावेश गर्न उनी सफल रहेका छन । विधागत रूपमै पनि लोकसाहित्य, कथा, कविता नाटक, संस्मरण उपन्यास लगायतका बहुविधामा कलम चलाउनु हुने भाइसाब डोट्याली भाषालाई राष्ट्रिय भाषाको मान्यता दिलाउने, नेतृत्व दिने तथा यस भाषाको आफू मात्रै वकालत गर्ने व्यक्ति नभएर अरूलाई प्रेरित गर्ने व्यक्ति पनि हुन । हामी धेरैले उनलाई लोकसाहित्यसित मात्रै जोडेर हेर्दछौ तर उनी यस क्षेत्रको इतिहाससित पनि परिचित व्यक्ति हुन । साझा प्रकाशन तथा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गर्न आलटाल गरेको इतिहासको कृति समेत प्रकाशित हुन बाँकी रहेको छ । लामो समयसम्म निरन्तर रूपमा प्रगतिशील राजनैतिक संस्थाहरू निकट रहेर काम गर्दाको अवस्थामा विभिन्न प्रकाशनमा छरिएर रहेका बौद्धिक लेखहरू तथा अन्तर्वार्ता संकलन हुन सकेका  छैनन् । साहित्य अनुभूतिहरूको कलात्मक अभिव्यक्ति हो र यसले लोककल्याण गर्नुपर्दछ भन्ने मान्यता राख्ने भाइसाब धेरै मानिसले रूचाएको साहित्य नै उत्कृष्ट साहित्य हो भन्ने विचार राख्दथे । साहित्यकार समाजप्रति वफादार ÷इमान्दार हुने र समाजकै भलाइमा समर्पित हुनुपर्छ भन्ने उनको विचार थियो । नेपालको राष्ट्रिय संस्कृतिको मूल प्रवाहमा सुदूरको स्थान बनाउन र उपस्थितिका जनाउने ध्येयका साथ उनले गरेको योगदान ज्यादै महत्वपूर्ण छ । पछिल्लो पुस्ताले उनको पदचाप पछ्याएर काम गर्न सकेमा यहाँको भाषा–साहित्य–संस्कृतिको प्रगति हुनेछ र अग्रज प्रतिको सच्चा श्रद्धाञ्जली समेत समर्पित हुनेछ ।
२०७८÷१०÷९ महेन्द्रनगर

(वासूदेव भाइसाब नेपाली साहित्य एवम् लोकसाहित्यका क्षेत्रमा आफ्नो सफल पहिचान बनाउन सफल स्रष्टा हुनुहन्थ्यो । आज उहाँको  निधनको  १५ औं दिन हो । पश्चिम नेपालका एक कुशल स्रष्टा जगदिश ओझाले उहाँको योगदानलाई आफ्ना लेखनीमार्फत व्यक्त गर्नुभएको छ ।)