पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ । 

आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलाेलिटर १०० डलरले बढेर ९९५ पुगेकाे छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा अत्यधिक घाटा भएपनि हाललाई पहिलेकै मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ । गएको सोमबार निगमले प्रति सिलिन्डर ६४६ रुपैयाँ घाटा भइरहेको बताएको थियो ।

मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब एक अर्ब ८८ करोड घाटा हुने विज्ञप्तिमा जनाइएको छ । निगमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा ६ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९ रुपैयाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपैयाँ तीन पैसा र मट्टीतेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको विज्ञप्तिमा भनिएको छ ।
No description available.