माघे संक्रान्ति आज देशभर धुमधामले मनाइदै


माघे संक्रान्ति आज देशभर धुमधामले मनाइदै

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् ।

उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

सुदुरपस्चिम प्रदेशमा आजको दिनलाई ‘नरहरी’ पर्वको रुपले धुमधामसंग मनाउने प्रचलन रहेको छ । आजको दिन बिहानै कागलाई चामलबाट बनेका बिशेष रोटि खुवाउने चलन पब्नी रहेको छ ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि नै शुरु भइसकेको छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । 

एकताको पर्ब :
सम्भवतः सबै नेपालीले एकसाथ मनाउने साझा पर्व हो माघे संक्रान्ति। तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन्। एउटा संयोग नै भनौँ वा वास्तविकता यी दुवै समुदायले आफूलाई भगवान् गौतम बुद्धका वंशजको रूपमा पनि दाबी गर्दै आइरहेका छन। माघीलाई नयाँ वर्षका रूपमा आत्मसात गरिदिँदा यी दुई समुदायको नजिकपन अझै प्रगाढ हुँदै जान थालेको आभास हुन्छ। त्यसमाथि थारु आदिभूमि थरुहट र मगर आदिभूमि मगरात एउटै धरातलीय परिवेश पहाड र तराईमा पर्नुले पनि माघीले यी समुदायलाई अझै नजिक तुल्याएको छ।  राजधानी काठमाडौँका आदिबासी नेवारहरूले पनि माघे संक्रान्तिलाई घ्यो, चाकु, सँल्हुका नाउँमा भव्य ढंगमा मनाउँछन्। तराई–मधेसमा यस दिनलाई तिला संक्रान्ति त पूर्वी नेपालका किरात र हिमाली समुदायका शेर्पा, थकाली, तामाङ, गुरुङलगायतका समुदायमा पनि नयाँ वर्ष येलेदोङ, ल्होछार प्रारम्भको दिनका रूपमा लिइन्छ। निकै पिछडिएका समुदाय राउटे, कुसुण्डामात्र होइन, क्षत्री–ब्राह्मणले पनि आआफ्नै तौरतरिकाबाट मनाउँछन् माघे संक्रान्ति। सूर्य उत्तरायण हुँदै गएपछि दिन लामो हँुदै जाने पर्वका रूपमा लिइने माघे संक्रान्तिलाई कतिपय आदिबासी घरघरबाट धुपदीप बाल्दै, उखु, सुन्तलालगायतका फलफूल, उसिनेको सख्खरखण्ड, तरुल, आलु आदि देवीथानमा चढाउने मेलाका रूपमा पनि मनाउने गर्छन्।