सुप्रसिद्ध हिन्दी लघुकथाकार मधुदीप रहेनन्


लेखक : लेखापढी      २९ पुष २०७८, बिहीबार १०:०५ मा प्रकाशित     
सुप्रसिद्ध हिन्दी लघुकथाकार मधुदीप रहेनन्

दिल्ली । हिन्दीका सुप्रसिद्ध लघुकथाकार मधुदीप गुप्ताको २०२२ जनवरी ११ का दिन दिल्लीमा निधन भएको छ । हिन्दी साहित्यका वरिष्ठ लघुकथाकार मधुदीपको जन्म सन् १९५० मे १ का दिन भारतको हरियाणा राज्यको दुजानामा माता स्व. धनपति एवम् स्व. भगवान दासका सुपुत्रका रुपमा भएको थियो । उनको वास्तविक नाम महावीरप्रसाद गुप्ता हो ।

मधूदीपले कलामा स्नातकसम्मको अध्ययन गरेका थिए । उनका हिन्दी भाषामा प्रकाशित लघुकथा कृतिमा हिस्सेका दूध (कथा एवम् लघुकथा), मेरी बात तेरी बात, समयका पहिया, मेरी चुनिन्दा लघुकथाएँ रहेका छन् । त्यस्तै अंग्रेजीमा ६६ लघुकथाज बाइ मधुदीप, माइ सेलेक्टेड लघुकथा (अनुवाद) रहेको छ । उनले सम्पादन गरेका लघुकथा कृतिमा तनी हुई मुट्ठियाँ, पडाव और पडताल लघुकथा श्रृृंखला (हालसम्म ३१ खण्ड), नई सदी की धमक रहेका छन् ।

मधुदीपले विश्व हिन्दी लघुकथाकार कोश तथा विश्व हिन्दी लघुकथाकार निर्देशिकाको सम्पादन गरेका छन् । यसबाहेक उनका उपन्यास, कथा, बालकथासँग सम्बन्धित सिर्जनात्मक लेखन एवम् सम्पादनका कृति प्रकाशित छन् । उनका उपन्यास एवम् लघुकथाका बारेमा विभिन्न विश्वविद्यालयका विद्यार्थीद्वारा शोधकार्र्र्य सम्पन्न भएको पाइन्छ । उनले लघुकथाको महत्वपूर्ण श्रृृङखला पडाव और पडतालका साथै अनेकन समीक्षा तथा पुस्तकहरूको सम्पादन कार्यमा आफ्नो जीवनको महत्वपूर्ण उर्जा लगाएका थिए ।

उनको लघुकथा समीक्षा कृति लघुकथा के समीक्षा बिन्दु प्रकाशित छ । मधूदीपले दिशा प्रकाशनका निर्देशकका रुपमा कार्य गरेको पाइन्छ । हिन्दी भाषाका सुप्रसिद्ध लघुकथा लेखक, समालोचक मधुदीप गुप्ताप्रति हार्दिक श्रृद्धाञ्जली ।