डोट्याली लोकसाहित्यका अध्येता भाइसाब रहेनन


डोट्याली लोकसाहित्यका अध्येता भाइसाब रहेनन

धनगढी । डोट्याली लोकसाहित्यका अध्येता वासुदेव भाइसाबको यही २०७८ पुस २५ गते राति आफ्नै निवास महेन्द्रनगर, कञ्चनपुरमा निधन भएको छ ।

भाइसाबले डोट्याली लोकसाहित्यको अध्ययन, अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँ सुदूरपश्चिम क्षेत्रको वरिष्ठ लेखक एवम् सामाजिक कार्यकर्ता हुनुहुन्थ्यो ।

वि.स. २००० सालमा बैतडी जिल्लामा जन्मनुभएका भाइसाबले लामो समय शिक्षण सेवामा कार्य गर्नुभयो । उहाँले साहित्य लेखन, साहित्यिक संगठन सञ्चालन, पत्रपत्रिकाको सम्पादनमा समेत आफ्नो सक्रियता देखाउनु भएको थियो । महाकाली साहित्य संगमका संस्थापक हुनुका साथै दुई कार्यकाल अध्यक्ष समेत हुनभएको थियो । भाइसाबले गैरसरकारी क्षेत्रमा समेत कार्य गर्नुभएको थियो ।

राष्ट्रिय प्रतिभा पुरस्कार, सुदूर पश्चिमाञ्चल साहित्य पुरस्कार, जनमत साहित्यिक मासिकबाट विशेषांक प्रकाशनका साथै देशविदेशका विभिन्न संघसंस्थाबाट सम्मानित हुनुभएका उहाँ जीवनका पछिल्ला दिनमा अल्जाइमर रोगबाट पीडित हुनुहुन्थ्यो ।