नारायणहिटी रेष्टुरेन्ट प्रकरण : बतासले संरचना नभत्काए मन्त्री आलेले आफैं भत्काउने चेतावनी


लेखक : लेखापढी      २३ पुष २०७८, शुक्रबार १३:५१ मा प्रकाशित     
नारायणहिटी रेष्टुरेन्ट प्रकरण : बतासले संरचना नभत्काए मन्त्री आलेले आफैं भत्काउने चेतावनी

नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिएका छन् ।

आगामी आइतबार १२ बजेभित्र ती संरचना हटाउन मन्त्री आलेले बिहीबार बतास अर्गनाइजेसनलाई दिएको निर्देशन पालना नभए आफैं गएर भत्काउने चेतावनी दिएका हुन् ।

‘मैले तीन दिनभित्र संग्राहलयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन निर्देशन दिइसकेको छु । यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफैं पुगेर हटाउँछु’, मन्त्री आलेको भनाइ छ ।

यसै गरी मन्त्री आलेले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेका छन् । समितिमा लुइँटेलसहित मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवको जिम्मेवारी शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् ।