विश्वमा अर्को नयाँ समस्या ‘फ्लुरोना’ थपियो


लेखक : लेखापढी      २३ पुष २०७८, शुक्रबार ०३:३५ मा प्रकाशित     
विश्वमा अर्को नयाँ समस्या ‘फ्लुरोना’ थपियो

द वासिङ्टन पोस्ट । इजरायलले दुईजना गर्भवती युवतीमा कोरोना र फ्लू दुवै पोजिटिभ देखिएको तथ्य बाहिर ल्याएपछि यस वर्षको सुरुदेखि नै विश्वरको ध्यान ‘फ्लुरोना’मा गएको छ ।

हुनत चिकित्सकहरूले पहिलेदेखि नै मानव जगतले दोहोरो महामारी झेल्नुपर्ने स्थिति आउनसक्ने चेतावनी दिँदै आएका थिए । किनभने अस्पतालहरूमा कोभिडका बिरामी भरिन थालेकाबेला इन्फ्लुएन्जाको घटनामा पनि वृद्धि हुन थालेको छ ।

विश्वका विभिन्न सरकारले आफ्ना नागरिकलाई कोरोनासँगै फ्लूको खोप पनि लगाउन आह्वान गरेका छन् ।

‘फ्लुरोना’ले कुनै पनि व्यक्तिमा दुईवटा श्वासप्रश्वास सम्बन्धी संक्रमण एकैपटक हुनुलाई इंगित गर्दछ । 

स्वास्थ्य अधिकारीहरूले यस हिउँदमा विश्वभरि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन्ट बढिरहेकै कारण पनि फ्लू देखिएको हुनसक्ने बताएका छन् ।

इजरायलमा दुई गर्भवतीलाई पहिलोपटक देखिएको फ्लुरोनाको विश्वभरि चर्चा चलिरहेकैबेला ब्रिटिस टेब्लोइड ‘द सन’ले यो दोहरो संक्रमणबाट दोहरो समस्या सिर्जना हुने बताएको छ ।

फ्लुरोना एउटा छुट्टै रोग भने होइन । कुनै व्यक्तिलाई दुवै भाइरसले एकै पटक आक्रमण गरेको अवस्थालाई फ्लुरोना भनिएकोे हो । यो नयाँ नामाकरण अघि नै फ्लुरोना संयुक्त राज्य अमेरिका, इजरायल, ब्राजिल, फिलिपिन्स र हंगेरी लगायतका थुप्रै मुलुकमा देखापरिसकेको छ । 

द एटलान्टिककाअनुसार अमेरिकामा दुई वर्ष अघिनै फ्लुरोनाको समस्या देखापरेको थियो । सन् २०२० को फ्रेब्रअरीमा न्युयोर्कको एउटा अस्पतलमा एकजना पुरुष डरलाग्दो खोकी र ज्वरोको समस्या लिएर अस्पताल गएका थिए । परीक्षणबाट उनीमा दुवै अर्थात् इन्फ्लुएन्जा र कोरोना भाइरस भेटिएको थियो । केही सातापछि उनीसहित उनका परिवारका अन्य तीनजना सदस्यमा पनि सोही समस्या देखापरेको थियो । विश्व स्वास्थ संगठन (डब्लूएचओ)ले दुवै भाइरस एकै किसिमले अर्थात् खोक्दा, हाच्छ्ँयु गर्दा, बोल्दा, गाउँदा वा श्वास फेर्दा निस्कने जलवाष्प, थुक वा र्‍यालको छिँटाको माध्यमबाट सर्ने भएकाले संक्रमण रोक्ने उत्तम उपाय भनेकै मास्क लगाउनु रहेको जनाएको छ । 
-१२ खरिबाट