दार्चुला महाकाली नदीमा पुल बनाउने भारतीय मन्त्रि परिषद्को निर्णय


लेखक : लेखापढी      २३ पुष २०७८, शुक्रबार ०३:५८ मा प्रकाशित     
दार्चुला महाकाली नदीमा पुल बनाउने भारतीय मन्त्रि परिषद्को निर्णय

काठमाडौँ- नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ ।  त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

‘दार्चुला सदरमुकामबाट डेढ किलोमिटर परको असीगडा र भारतको काकँडा जोड्ने पुल बनाउने कुरा अलि पहिलादेखिकै हो,’ प्रजिअ जोशीले सेतोपाटीसँग भने, ‘भदौमा भारतीय प्राविधिक आएर यहाँको माटो पनि परीक्षण गरेर गएका थिए। पिथौरागढका अधिकारीहरूले केही दिनअघि भएको छलफलमा पनि पुलको काम छिट्टै अघि बढाउने बताएका थिए। आज भारतको मन्त्रिपरिषदले निर्णय गर्‍यो भन्ने सुनेका छौं।’

अहिले महाकाली नदीमा कञ्चनपुरको गड्डाचौकीमा मात्रै भारतसँग जोड्ने मोटरेबल पुल छ। त्यहाँभन्दा माथि ठाउँ-ठाउँमा झोलुंगे पुल छन्। दार्चुला सदरमुकाम र भारतीय बजार धार्चुला जोड्ने पुल पनि झोलुंगे पुल नै हो।

भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका हुन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।