प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिमबाट कञ्चनपुरलाई छनौटको उपाधि


लेखक : लेखापढी      २१ पुष २०७८, बुधबार ०३:३३ मा प्रकाशित     
प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिमबाट कञ्चनपुरलाई छनौटको उपाधि

महेन्द्रनगर- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जितेको छ । फाइनल खेलमा कञ्चनपुरले बैतडीलाई ३८ रनले हराएर उपाधि हात पारेको हो । कञ्चनपुरले दिएको १९६ रनको लक्ष्य बैतडीको पारी १५७ रनमा समेटियो ।

बैतडीका लागि गजेन्द्र बोहराले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ कञ्चनपुरका आदित्य महताले तीन तथा अर्जुन साउद र प्रकाश विष्टले दुई दुई विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ४० ओभरमा आठ विकेट गुमाउँदै १९५ रन जोड्यो । उसका लागि अनुराग सिंहले ४७ र हेमन्त धामीले ४२ रन बनाए । बलिङतर्फ बैतडीका लागि जगदीश चन्दले तीन विकेट लिए ।

कञ्चनपुरका आदित्य महतालाई खेलको म्यान अफ दी म्याच घोषित गरिएको सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो । यही पुस १४ गतेदेखि सुरु भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा आठ जिल्लाका टोली सहभागी थिए । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरी सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौँमा हुँदैछ । –बिबिसीबाट