सिके राउतको जनमत पार्टी द्वारा सिराहामा चकाजाम, गाडी तोडफोड एबं आगजानी


लेखक : लेखापढी      १२ पुष २०७८, सोमबार १५:१० मा प्रकाशित     
सिके राउतको जनमत पार्टी द्वारा सिराहामा चकाजाम, गाडी तोडफोड एबं आगजानी

सिरहा- सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो । जनमतले आज सिराहामा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको  छ ।

गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरिएपछि जनमत पार्टीले सिरहामा आन्दोलन चर्काएको छ । गत पुस ६ गते सिरहाको औरही गाउँपालिका कार्यालयको एक कोठामा वितरणका लागि राखिएको गहुँको बीउ किसानले लगेका थिए । वितरणमा ढिलाई भयो भन्दै लाइन बसेका किसानहरू जथाभावी गहुँको बीउ लुटेर लागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने केहीमाथि मुद्दा चलाइएको छ । आइतबार आन्दोलनकारीले दर्जनौं गाडीमा तोडफोड गर्नुको साथै केही गाडीमा आगजनीसमेत गरेका थिए । 

सिके राउत भन्छन- गाडी चलाएर आन्दोलन उल्लङ्घन गर्ने र दादागिरी देखाउने हो भने कारबाही हुन्छ नै। मारुती सिमेन्टको ट्रक चलाउनु कुनै अत्यावश्यक साधन भित्र पर्दैन। क्षतिपूर्तिको सम्पूर्ण जिम्मेवारी त्यहाँको स्थानीय प्रहरी र प्रशासनको हो, जसले जबरजस्ती हाम्रो आन्दोलन उल्लङ्घन गर्न लगाए, बिहानैबिहान दर्जनौँ राउन्ड अश्रुग्याँस फायरिङ गरे र दर्जनौँ प्रहरीले घेरेर निहत्था निर्दोष जनतालाई मरणासन्न गरी कुटे। 
कसैले प्रवचन दिइराख्नु पर्दैन – तोप पड्काएर हजारौँ मान्छे मार्ने र प्लेन अपहरण गर्ने, टाउको काट्दै हिँड्ने, १७,००० मार्ने, ५ महिना नाकाबन्दी गरेर पूरा मधेस तहसनहस बनाउने, दर्जनका दर्जन गाडीमा आगो लगाउने, गौर नरसंहार गरी २७ जनाको निर्मम हत्या गर्ने, नाकाबन्दीमा आफू तेल बेच्ने र जनताले तेल ल्याउँदा जिउँदै मान्छेलाई पेट्रोल छरेर आगो लगाएर मार्ने, प्रहरीलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने, दर्जनौँ प्रहरी चौकीमा आगो लगाउनेहरूले किसानहरूलाई प्रवचन दिइराख्नु पर्दैन।