सुनचाँदीदेखि मदिरासम्मको आयातमा कडाइ, बैंकमा नगद नराखी आयात गर्न नमिल्ने


लेखक : लेखापढी      ६ पुष २०७८, मंगलवार ०५:१९ मा प्रकाशित     
सुनचाँदीदेखि मदिरासम्मको आयातमा कडाइ, बैंकमा नगद नराखी आयात गर्न नमिल्ने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले वस्तुहरूको आयातलाई थप निरूत्साहन गर्ने नीति लिएको छ। सोमबार राष्ट्र बैंकले आफ्नो वेबसाइटमार्फत् नयाँ निर्देशन जारी गर्दै केही वस्तुको आयातमा कडाइ गरेको हो।  

डेढ दर्जन प्रकारका वस्तुहरू आयात गर्न प्रतीतपत्र खोल्नुअघि  बैंकले आयातकर्ता कम्पनीबाट तोकिएअनुसार अनिवार्य शतप्रतिशत मार्जिन बुझ्नुपर्ने छ । दुई प्रकारका वस्तु आयातमा ५० प्रतिशत नगद जममा गराएपछि  मात्रै प्रतीतपत्र खोल्न सकिने छ ।

अब चिनी र चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा र भिनागर, चुरोट र सुर्तिजन्य बस्तु, अत्तर, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठी, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक बस्तु, सुन, चाँदीजस्ता वस्तु आयात गर्दा विदेशी बजारमा तिरिने मूल्यको १०० प्रतिशत नै नगद बैंकमा राख्नुपर्नेछ । गाडी र मोटरसाइकल आयातमा त्यस्तो मार्जिन रकम ५० प्रतिशत मात्रै राखेर प्रतीतपत्र खोल्न सकिने छ । तर, विद्युतीय सवारीका हकमा मार्जिनको नीति लिइएको छैन ।

यसबाहेक सुनचाँदी आयात गर्दा पनि व्यवसायीले ऋण पाउने छैनन्।

वस्तुको आयातको लागि प्रतीतपत्र खोल्दा तोकिएअनुसारको नगद मार्जिन लिनुपर्ने हुन्छ । यसअघि आयातको प्रक्रिया थाल्दा नगद मार्जिन अनिवार्य गरिएको थिएन ।

अब बैंकमा पैसा जम्मा भइसकेपछि मात्रै आयातकर्ताले प्रतीतपत्र खोल्न सक्नेछन् । औषधिजन्य पदार्थ र औद्योगिक कच्चा पदार्थका हकमा पनि मार्जिन रकमको व्यवस्था लागू हुनेछैन ।

यो निर्देशनपछि तोकिएको वस्तुहरु आयात कठिन अवस्था बनेको छ । अब आयात गर्नुअघि नै वस्तुको विदेशमा तिरिने मूल्यबराबरको रकम बैंकमा जम्मा गर्नुपर्ने छ ।

पूर्ण रूपमा बिजुलीबाट चल्ने चारपांग्रे र दुईपांग्रे बाहेकका सवारीसाधन आयात गर्दा भने पचास प्रतिशतसम्म रकम व्यवसायीले जम्मा गर्नुपर्नेछ। उनीहरूले सवारी आयातमा पचास प्रतिशत ऋण लिन पाउनेछन्।

केही समययता बैंकहरूसँग लगानीयोग्य पैसाको चरम अभाव भएको छ। राष्ट्र बैंकका अनुसार बैंकहरूमा ऋणको अत्यधिक माग भएकाले उनीहरूसँग लगानीयोग्य रकम अभाव भएको हो। अधिकांश बैंक ऋण दिनै नसक्ने अवस्थामा छन्।

जस्तै कुनै आयातकर्ताले सिंगापुरमा १० करोडको फर्निचर आयात गर्दैछ भने उसले अब बैंकमा १० करोड नगद राखेपछि मात्रै बैंकले प्रतीतपत्र खोलिदिनेछ ।


Facebook Notice for EU! You need to login to view and post FB Comments!