सभापतिमा देउवाकाे जीत सुनिश्चित हुँदैः निधि र सिंहले पनि देउवालाई समर्थन गर्ने


लेखक : लेखापढी      २८ मंसिर २०७८, मंगलवार १३:०२ मा प्रकाशित     
सभापतिमा देउवाकाे जीत सुनिश्चित हुँदैः निधि र सिंहले पनि  देउवालाई समर्थन गर्ने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणमा निर्वाचनको तयारी भइरहेको छ ।  पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणमा देउवालाई नै सघाउने घोषणा गरिसकेका छन् ।

दोस्रो चरणका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुईजना बीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा सभापति पदका लागि पाँच उम्मेदवार रहेकोमा सबैभन्दा बढी मत शेरबहादुर देउवा र दोस्रो बढी मत शेखर कोइरालाले ल्याएका थिए ।

देउवा र कोइरालाबीच आज अपरान्ह ३:३० बजे सभापति पदमा फेरि निर्वाचन हुने भएको छ।

पहिलो चरणमा ४ हजार ६ सय ८१ मतमध्ये देउवाले २२५८ मत पाएका थिए । उनका निकटम प्रतिस्पर्धी शेखर कोइरालाले १७०२ मत पाए । पहिलो चरणमा प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २५० मत पाएका छन् । यी दुवैले देउवालाई नै सघाउने घोषणा गरिसकेका कारण यिनले पाएको मत देउवालाई नै जोड्ने हो भने देउवाको पक्षमा २८७९ मत पुग्ने देखिन्छ । 

पहिलो चरणमै ४८ प्रतिशतभन्दा बढी मत ल्याएका देउवाले दोस्रो चरणका लागि ‘रिङ आउट’ भएका सिंह र निधिको समर्थनसमेत जुटाएका कारण सहजै जित हासिल गर्ने आँकलन गरिएको छ ।