कर्णाली प्रदेश सभापतिमा कांग्रेशका ललितजंग शाही निर्वाचित


लेखक : लेखापढी      १९ मंसिर २०७८, आईतवार ०४:५० मा प्रकाशित     
कर्णाली प्रदेश सभापतिमा कांग्रेशका ललितजंग शाही निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन्। शनिवार भएको निर्वाचनबाट शाही ४२२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्।

संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका छन्। यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याए। जम्मा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ।

अरू पदाधिकारी र सदस्यहरुको मतगणना भईरहेको निर्वाचन समितिले जनाएको छ । 

कर्णाली प्रदेशको पहिलो सभापति बनेका जुम्लाका शाही यसअघि २०७० सालमा संविधान सभा सदस्य थिए।

सभापतिमा पराजित भएका भूपेन्द्रजंग शाही र मोतीराज बम कालिकोटका हुन्।

शाही तरूणदलका महामन्त्री हुन्। यसअघि उनी नेपाल विद्यार्थी संघको उपाध्यक्ष पनि थिए। उनी तीन कार्यकाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए।

२०७० सालको संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभामा उम्मेदवार बनेका शाही दुवै पटक माओवादीका महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए।

मोतीराज बमले केही समयअघि मात्र निधि समूहमा लागेका हुन्। प्रदेश अधिवेशनमा उनीसँगै १० जना भूगोल सदस्यमा प्यानलबाट उम्मेदवारी परेको थियो।