दक्षिण अफ्रिका सहित ९ मुलुकका यात्रुलाई नेपाल प्रवेशमा रोक; ओमिक्रोन भेरियन्टको खतरा


लेखक : लेखापढी      १७ मंसिर २०७८, शुक्रबार ०३:३५ मा प्रकाशित     
दक्षिण अफ्रिका सहित ९ मुलुकका यात्रुलाई नेपाल प्रवेशमा रोक; ओमिक्रोन भेरियन्टको खतरा

काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका ९ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।

ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई आज राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

गत नोभेम्बर २४ मा अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एसियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिदै गइरहेको सन्दर्भमा नेपालले पनि समयमै सावधानी अपनाई नयाँ भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न निर्णय गरेको हो ।