सर्वोच्च अदालतमा पहिलो पटक तोकियो गोला प्रणालीबाट पेसी


लेखक : लेखापढी      १५ मंसिर २०७८, बुधबार ११:२३ मा प्रकाशित     
सर्वोच्च अदालतमा पहिलो पटक तोकियो गोला प्रणालीबाट पेसी

सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिएको छ । पहिलो दिन आज दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन् । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नेबारे संशोधित सर्वोच्च अदालत नियमावली बुधबारदेखि कार्यान्वयनमा आउन लागेको हो ।

नियमावली कार्यान्वयन गर्नेबारेको सूचना सोमबार नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । गोला प्रणाली सुरु भएसँगै सर्वोच्चमा पछिल्लो एक महिनाभन्दा लामो समयदेखि भइरहेको न्याय सम्पादनको अवरुद्धता समेत हट्नेछ ।

गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका छन् । न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ । त्यस्तै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको इजलासमा टंकबहादुर मोक्तान परेका छन् ।

सर्वोच्च अदालतको स्थापनाको ७० वर्षसम्म एउटा नियम थियो जसले प्रधानन्यायाधीश पदलाई शक्तिशाली बनाएको थियो। त्यो हो- पेशी तोक्ने अधिकार। प्रधानन्यायाधीशले हरेक दिन कामको सुरूवात नै पेशी तोकेर गर्थे।

आजदेखि त्यो अधिकार प्रधानन्यायाधीशले पाउने छैनन्। अघिल्लो हप्ता सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठक फूर्लकोर्टले प्रधानन्यायाधीशको यो अधिकार कटौति हुने गरी सर्वोच्च अदालत नियमावली संसोधन गरेपछि उनको अधिकार कटौती भएको हो।