हिन्दु राष्ट्र र राजाको पुनर्स्थापना हुनुपर्छ- पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द


लेखक : लेखापढी      १५ मंसिर २०७८, बुधबार १४:५७ मा प्रकाशित     
हिन्दु राष्ट्र र राजाको पुनर्स्थापना हुनुपर्छ- पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले अहिलेको स्थितिबाट जनता सन्तुष्टि नभएको बताएका छन् । राप्रपाको काठमाडौंमा जारी महाधिनेशनमा बोल्दै पूर्वप्रधानमन्त्री चन्दले यस्तो बताएका हुन् । उनले देशका लागि राजा र हिन्दु राष्ट्रको पुनर्स्थापना हुनुपर्ने माग गरे।

उनले भने, ‘राष्ट्रीय अखण्डता र सार्वभौमिकता कायम राख्नु हाम्रो संकल्प हो । जनताको सुःख र समृद्धिका लागि निरन्तर प्रयास गर्ने पनि हाम्रो संकल्प हो । राजा र हिन्दु राष्ट्रको पुर्नस्थापना हुनुपर्छ देशको लागि ।’

प्रचण्ड, माधव नेपालप्रति लक्षित गर्दै उनले भने, तपाईंहरुको संघर्ष अहिलेको परिस्थिति ल्याउन हो त ? अहिलेको स्थितिले जनता सन्तुष्टि छैनन् । परिवर्तन आवश्यक छ । अहिले गलत छोपेको छ । प्रोपोगान्डाले सत्यलाई ढाकिदिएको छ।’

चन्दले भने, ‘गद्धी त्यागेपछि पनि भीडका भीड टिका लगाउन आउँछन् । जनताको आस्‍था छ भन्ने प्रमाणीत छ । राजालाई स्थान दिऔं कि बरु छलफल चलाउनोस् म पनि आउँछु।’

उनले राप्रपाको नेतृत्व सहमतिबाटै अध्यक्ष चयन हुनुपर्छ भन्ने भावना धेरैको रहेको भन्दै पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले सहमतिकै लागि भनेर त्याग गरेको बताए । उनले त्यागको यो भावना विस्तार हुँदै जाने र अन्त्यमा पार्टीले सर्वसम्मत् नेतृत्व प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे । 
अहिले मुलुकमा अन्यायले न्यायलाई दबाएको चर्चासमेत उनले गरे । उनले देशमा राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको पनि बताए ।