अन्ततः एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता


अन्ततः एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

नेकपा (एमाले)को अध्यक्ष पदका लागि नेता भीम रावलले र केपी शर्मा ओलीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन प्रकिया सुरु भएलगत्तै बिहान रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।

यसै गरी सोमबार बिहान  केपी शर्मा ओलीले  पनि दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि ओलीले आइतबार राति बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गरेका थिए । ओलीले विष्णु पौडेललाई उपाध्यक्ष र शंकर पोखरेललाई महासचिवमा प्रस्ताव गरेका छन् ।

सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए ।

अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो ।

अब अध्यक्ष ओलीले प्रस्ताव गरेको पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा चुनाव हुन्छ । नेता घनश्याम भूसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन् । त्यसैले उनले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसैले उपाध्यक्ष पदमा पनि निर्वाचन हुन्छ । केन्द्रीय सदस्यहरूमा पनि धेरै आकांक्षीको नाम छुटेको छ । त्यसैले ती पदमा पनि निर्वाचन हुने सम्भावना छ ।