ठूले बाउ


लेखक : लेखापढी      १० मंसिर २०७८, शुक्रबार ०५:५१ मा प्रकाशित     
ठूले बाउ

‘ठूलो’ ठूलो वा जेठो, जेष्ठ मान्छेलाई भनिने शब्द हो । छोराहरु वा दाजुभाइ मध्येको जन्मका आधारमा पहिलो क्रमको व्यक्ति नै ठूले रहेछ ।
चामु पाध्यको घरद्धार सबै फोके घर्तीकै अमिलो, नुनिलो र गन्हाउने पसिनाले थामिएको अनि बाँधिएको थियो । चामु पाध्यका बाबु उमाकान्त पाध्य पन्डित पेशाका पारंगत अनि ख्याति कमाएका विज्ञ थिए । घरद्धारमा हरुवा-चरुवा राखेका । फोकेका तीन पुस्ता सबै पाध्य परिवारकै हली गोठाला थिए । अनि घर्तीनी जति कोसेली पातको सोली बोक्ने, खेतीपातिको काम गर्ने, घरको बाहिर-भित्र लिपपोत र सरसफाई गर्ने, वस्तुभाउ हेर्ने, लुगा धुने, मल बोक्ने, कलश्यौली, भडयौर्लीे, ठेकी कोसेली पर्गेल्ने गर्दथे । केटाकेटी भावि हली गोठाला अनि सबै कामका लागि पाध्यहरुकै सारथी पनि । हुर्केका छोराबुहारी सबै खाले काममा तम्तयार बन्दथे । फोकेको वंशमा चार पुस्ता बाजेदेखि छोरो सार्केसम्म लगातार एकएक भाइ । चौतारे डाँडाका कुटुम्बेरी घर्तीहरुसँग मिलेर डोली बोक्ने, पाध्य परिवारको खाना–दाना फलाउँने, घर, मतान, गोठ बनाउँने फोके र सार्केकै काम थियो । धन्सार, घर, कटेरो, टौवा, पर्खाल, खेतबारी, कुलो, गल्ली सबै तिनकै ठेक्का । जोतखन, घाँस–दाउरा, घर छेप्ने, टालटुल गर्ने सबै फोके परिवारका घर्तीघर्तीनीकै काम ।

माइलो र सबै भाइहरुको गु-मुत विष्ट्याउने, चुहाँउने चर्पी फोके र उसैकी स्वास्नी भुन्टीका हात, काख, काँध हुन् । फोकेले त्यो पाध्य परिवारलाई कति रगत पसिना दियो ? मोल छैन ! हिसाब छैन ! जस छैन ! आशा छैन ! लंगौटी, ठाडो भोटो र छोटो कछाड अनि पाध्यहरुले प्वाल पारेको टुप्पी बाहिरिने मैलो झुत्रे टोपी बाहेक चप्पल, जुत्तासँग फोकेको भेट भएन । सार्केले पनि केही पाएन । सार्के हुर्किएपछि ठूले बाउको तल्ला बारीमा सिक्किमका सुन्ताला बोकेर ल्याएको सिक्का ओइर्याएको बारीमा बास पायो घर्ती जहानले । पछि बोकापाठा, अधिंया–बटिंया गर्दै दुई गरा बारी ठूले बाउसँग रजिष्टरी गराएर बल्ल आफु ‘आफ्नो’ भएथे फोके, सार्के अनि सबै घर्ती जहान । उता चामु पाध्यको माइलो मात्र सग्लो र सन्चो थियो । जेठो जेठी मरेपछि बेपत्ता, साँहिलो र कान्छो अशक्त । टारबारी धनपतिकी छोरी ठाँइली नै माइलाकी असली माइली थिई । माइलीलाई ठूले बाउले अनर्गल गरेकै तीन दिनमा फोके घर्ती मरेको तेह्र दिन पुगेथ्यो ।

पाध्य परिवारको मात्र होइन, ठूले बाउका घरका ढुंगा फोकेकै पसिनाले जोडिएका थिए । सार्के हुर्किएपछि ठाउँठाउँमा सार्केले नै बुट्टा कुँदेर ठुले बाउका ढुंगालाई रौनक दिएथ्यो । माइलो र माइली फोकेलाई औधी प्रेम गर्दथे । फोके आफ्नै बाजेबाट सिकेको बैद्दाङ्ग अनी धामी विद्दामा राम्रो दखल राख्दथ्यो । जडीबुटी उसका दबाइमूलो गर्ने हतियार थिए । माइलो सात महिनासम्म खल्लाले थलिँदा झन्डै एघार वर्षमै टिपिएको ! उता माइली, बाल्यकालकी माइततिरकी ठाँइली, पिसाब नरोकिएर छ महिनासम्म तर्तरी हग्दा झन बिजोग । माइलो र माइली दुवैको असली “डाक्टर सा‘ब” फोके घर्ती नै थियो । फोके थिएन भने काले न माटी, छोरा न छोरी, वंशवृद्धि नै के हुन्थ्यो र !

पाध्य परिवार र ठूले बाउको सवै कामकर्म गर्ने हर्ताकर्ता फोके तीन दिनको पखालाले सिध्दियो । फोके मर्दा नरेन्द्र सरले एउटा फोकेले ठूले बाउको सभामेच राख्ने ठाँउमा बिछयाँउन चिउरीबोटे पाखाबाट ढाकरमा तेर्सो पारी फिर्फिरेको डोरीले कसेर टेकुवा टेका लाउँदै पाँच ठाँउमा विश्राम गराउँदै बोकेर ल्याएको पातलो चिप्लो चप्लेटी ढुंगाको झण्डा ओडाउने विचार गरे । ससम्मान फोकेलाई पुर्नपर्ने र फोकेले मरेपछि भए पनि मोल पाउनु पर्ने निधो गरे नरेन्द्र सरले आफूभित्र ।

चिल्लो चप्लेटीमा सार्केले सिक्किममा सिकेको सीप मिसाइएको थियो । सातजना नर, अनि सातजना नारी र सातैजना केटाकेटीको आकृति कुँदिएको थियो त्यस चप्लेटीमा । त्यो चप्लेटी ढुंगो ठूले बाउको सभा कचहरीपछि मुद्दा छिन्ने वाँणी बक्सँदा विराजमान हुने मण्डलीको ठीक बिचमा बिछ्याइएको थियो । त्यसमाथि ठूले बाउ बाहेक कसैले चढ्न, बस्न, टेक्न पाँउदैनथे । लिपपोत र सरसफाई तलैबाट घुमिघुमी गरिन्थ्यो, ठूले बाउका पुरोहित बाजेले दैनिक रुपमा त्यस मण्डलीको पूजा गर्दथे । मन्दिर र मतानको बिच भागमा खुल्ला आकाशमुनि डेड हात उठाएर पश्चिमपट्टिबाट उक्लने अनि उत्तरपट्टि ओर्लने सिंढी बनाएर चिप्लो चप्लेटी ढुंगो राखिएको थियो । बिछयाइको थियो । ढुंगो दुई हात चौडा अनि अढाई हात लामो र करिब दुई इन्च मोटो थियो । चार कुना मिलाइएको हुँदा आयताकार थियो ।

ठूले बाउ कचहरी गर्दा त्यसै चौकीमा काठे कुर्सीमा आसिन हुन्थे । उनी आसनमा चढ्दा सवैले जुरुक्क उठेर ‘जय ! जय ! जय !’ बोल्नु पर्दथ्यो । मौलोपूजा र नागपूजा ढुंगाको शीरभन्दा क्रमश ः नौ हात उत्तर र नौ हात पूर्वपट्टि अलग–अलग गरिन्थ्यो । फूलपाती, विहेबारी, ब्रतबन्ध, न्वारन, छेव्रर, पास्नी, पूजाआजा, होमहोमादी, भजन किर्तन, पाठ पारायण, देउकार्य सबै यसै ढुंगाको शीरबाट शुरु हुन्थे । ढुंगो पूर्वी सिरान बनाई बिछ्याइएको थियो । ठूले बाउ पनि पूर्वै फर्किएर बस्दथे । शुभ कार्य र ठूले बाउको उच्चतम आसन ग्रहणमा चौकीको दक्षिणबाट उत्तर दिशा फर्किएर शंखघ्वस गरिन्थ्यो । बाजा बज्थ्यो । मृत्युशैया र तिथि श्राद्द अनि अन्त्य कर्म स्थलबाट भने ढुंगो हेर्न सकिदैनथ्यो । बाली, दाम भेटी पहिले यसैमा अर्पण गरिन्थ्यो ।

आमा हस्तमायाले नौ महिनासम्म कोख भारी बनाएपछि बाहिरिएका थिए ठूले बाउ । ज्योतिष खडानन्दका नाति, लाडप्यारमै बालापन बित्यो । गाउँमा ठूलै रापताप थियो बाजे खडानन्द ज्योतिष अनि बाबु कोमल उपाध्याय पंडितको । बंश विस्तारमा जिजु र बाजेका एक–एक सन्तान । छोरीको उदय नभएको परिवार लगातार ठूले बाउ सहित तीन पुस्ताकै । ठूले बाउको हारमा अकाल मरुमराउ कसैको भएकै थिएन । आमा हस्तमाया अलि प्रतापी पनि थिइन् । बाबु एकाध दशक जुवाडे भएका भए पनि सात्विक जीवनमा फर्केका थिए ।

दश भाइमध्ये ठूलो रापताप ठूले बाउको देखिन्थ्यो । पंडित धरणीधर शर्मा र ज्योतिष जयनारायण श्रेष्ठको घनिभुत छलफल, निश्कर्षबाट उनी जन्म घडीपला, योग नक्षत्र, करण, बार, महिना, गते, तिथि, मिति जम्मैका हिसाबले ‘कर्कट’ राशि ठहरेका थिए ठूले बाउ । दुईवटा चिना अनि दुई टिपन कायम थिए । ‘ठूले’ र ‘हर्षलाल’ । बिहे गर्न गाह्रो होला, सासु–ससुरा पिर्ने डरले छोरी नदेलान भन्नका खातिर त्यसो गरिएको थियो । आमा कर्कट, श्रीमति ‘डम्बरमती’ पनि कर्कट । पछि समस्या भएन । फलिफाव नै थियो गृहस्थीमा । ठूले बाउ चौरासी वर्ष लागेपछि उनको कर्कट दाम्पत्य कसिलो र कठोर बन्यो । हिसाब किताब खुट्टयाइको थियो, मिल्यो पनि । ठूले बाउको मति बिग्रियो । कली पस्यो । बुढी मरिन् । एकाँधे भए ।

आमापट्टि पनि धनवान परिवार, शास्त्रादि ज्ञान भने पटक्कै नभएको । मद–मदिरा, हुकुमी शासनको पटुवारीपन, शोषण र दमन, अन्याय, अत्याचारको उद्दोग नै ठूले बाउको मावली घरमा संचालित थियो विगत पुस्तांैदेखि । जेल, नेल, सिस्नुपानी, चोख्याँउने, काडने, छाड्ने, कुट्ने, पिट्ने, आजीवन नपुंसकसम्म बंनाउनेसम्मको तालुकी अड्डा ठूले बाउकै मावली घर थियो । ठुले बाउले त्यो सवै बितन्डाबाट त्यस्तै पाठ सिकेका थिए । प्रश्न गर्ने कसैको साहस थिएन पाध्य परिवारप्रति । स्त्री–पुरुषमा आमा–छोरा बाहेक कोही कतै बाराना थिएन । भित्री चोटादेखि बाहिरी दर्बजासम्म जताततै रछयाँनै रछयाँन । भान्से, नोकरचाकर, पंडित, ज्योतिषादि सदस्य सबैका तीन पुस्ते पाध्य गृहादिमा अटाएका थिए । तर लोग्ने –स्वास्नी भेट नभई थुप्रै केटाकेटी ह्वारह्वार जन्मिन्थे । हुर्किन्थे, बाँच्थै, मर्थे, मारिन्थे पनि । कालमृत्यु अकालमृत्यु दुवै हाराहरी हुन्थे केटाकेटीमा । खोजिनीति हुने कुरै थिएन । आगन्तुक र परपाहुना पनि चोखै फर्कन गाहै्र पर्दथ्यो ।

ठूले बाउ बाल्यकालमा ‘ठूले’ कहलाँउथे, त्यसपछि उनि ‘ठूलो’ हुँदै ‘ठूले बाउ‘ को दज्र्यानी प्राप्त गरेका नायक थिए । पित्तलको ठूलो कुँडेको दुध, दारको ठेकीको दही, खमारीको हर्पेको ध्यू, जाँते सख्खर उनका भित्री बालसखा र गरियोको सस्र्यौ तेल बाहिरी साथी । खाना दाना, सुख सयल झनै उच्च घरानाको । पोषण, पोषाक, सवार केहीमा खोट थिएन । ठूले बाउको लेखपढ धुलौटोको साँवा अक्षर ह्रस्वदीर्घ, स्वर–व्यन्जन सम्मको मात्र थियो । नाम नामासी र सहीछाप भन्दा परको थिएन । मधेसका काइते ठूलेको हातबाट मरणासन्न हुने गरी कुटिएपछि घरको पाठशाला घोडा बाँध्ने तबेलामा परिणत भएथ्यो । सत्र वर्षका छिप्पट ठूलेलाई बाह्खरी चिनाँउन पाँच महिनासम्म हाड घोटेका बुढा काइते ठूलेको उद्यमले गर्दा डोकोमा चढेर मधेसतिरै छासिएका थिए रे । बेसीको धन्सार, गुवाली, गोठ नै ठूलेका मत्ताहातियूक्त बल बिसाँउने क्रिडास्थल थए । देशविदेश गमनको चल्ती थिएन ।

बेइमानका नाममा केही बाँकी राखेका थिएनन् पछि बुढेसकाल लाग्दा पनि बिगुचो गर्ने, थिचोमिचो गर्ने, दुःख दिने, झ्वाँक फेर्ने बानी छाडेका थिएनन् । अठार वर्षकै जोसिलो जवानीमा टाढै पुगेर चुलीथुमे चापागाँईकी छोरी बिहे गरेका थिए ठूले बाउले । तीन छोराको एकै लग्नमा झयाँई–झयाँई तीन बरयाँती लगेर तीनतिरबाट राम्रो कुलघारानका बुहारी भित्र्याएका थिए ठूले बाउले । तीनै छोराका एकएक नातिनी पनि हुर्काईसकेका थिए । छोरी भने ठूले बाउको भाग्यमै थिएन । भएनन् पनि, ठूले बाउ आफ्नो थुमका मुखिया मात्र थिएनन् । चार थुम मध्ये जेठो थुम सम्हाल्थे उनी । निवेदन मात्र होइन, बाँकी तीन थुमका पुनरावेदन पनि ठूले बाउकैमा दरपिठ अनि छिनोफानो गरिन्थ्यो । धर्मगुरुले न्यायको राय ट्क्याउँथे ठूलेबाउसमक्ष । अन्य माथिल्लो निकाय थिएन । धेरैजसो न्याय ठूले बउकै तजबिजमा ताोकिन्थे । निर्णय उल्टिने कुरै थिएन । स्वविवेक बिक्थ्यो ।

बिहान हरेक दिन नित्य पूजा आफैं गर्थे ठूले बाउ । पूजास्थल हवेलीको सबैभन्दा भित्रपट्टि उच्च चौकीमाथि थियो । चौकीमा दुई तला थिए । माथिल्लोमा शालिग्राम लगायतका पूजनीय वस्तु र पूजाभाँडा, शंख, घण्ट, चमर आदि राखिएका थिए । तल्लो तलामा ठूले बाउ बस्ने कुशासन, मृग छाला आदि थिए । सगोत्री ब्राम्हण बाहेकलाई त्यतातिर प्रवेश त के हेर्न पनि दिंइँदैनथ्यो । दैनिक रुपमा लिपपोत गरिन्थ्यो । मंगलबार साँझ सालधुप धुवाँउने, वर्षमा एकपटक चारजोर परेवा ढुकुर थुम्काको काफलको फेदमा थानीलाई बली दिने, खोलामा शनिबारे पाठी चढाँउने, धार्मिक स्थलहरूमा परेवा उडाँउने, जनै फेर्ने, अनन्त फेर्ने, घरमै धामी बसाँउने, गोठधुप गर्ने, भंैसे बोको तर्पिने, फूलपाती भित्र्याँउने, दशैं गराउने, यमपञ्चक मान्ने, बाजे–बज्यैको सहित जम्मा वर्षमा आठवटा श्राद्ध गर्ने, पुजा लगाउने कर्महरुमा भने ठूले बाउले कत्ति पनि बाटो बिराएनन्, छोडेनन् । आफैं सक्रिय हुन्थे, सहभागी हुन्थे, आफैं गर्थे ।

घरद्धार भने बाजेकै पालाको थियो । ठूलो घुमाउने एक हबेली, दुई मध्यम घर, दुई मतान, हावामहल, पाहुनाघर, भान्छाघर, घुमाउने आँगन दलान, पूरै गृहस्थललाई फन्को लगाउने घुमाउरो ढुंगेपर्खाल आदि पूर्ण रुपमा भरिभराउ थिए । बाहिरपट्टि तीनवटा गुवाली, एक धारो र एक आहाल पनि राम्रो स्थितिमा थिए । टार बारी, खरपाखो, गैरी खेत, वनजंगल र खोलो सबै रजिष्टरी र नापनक्सा भएकै थिए । पशुपंक्षी, खाद्यन्य, फलफूल बगैंचा, तरकारी, दालदलहन, तेलतेलहनमा कुनै कमी थिएन । कामदारको प्रर्याप्तता नै थियो । घरद्धाराभित्र काजकिरिया, मृत्युशैया, तिथि श्राद्ध, धर्मयज्ञादि सबैका छुट्टाछुट्टै स्थान व्यवस्थित थिए । घरद्धार सबै खरकै छानाले व्यवस्थित थिए । सबैमा ढुंगे गारो, लिउँन लेपन, कमेरो, रातमाटो र कालीमाटी सबैका बाहिरीभित्री गहना थिए ।

तीन पुस्ता अघिदेखिकै पुराण मण्डप छँदै थियो । वर्षमा एकचोटी ठूले बाउका घरमा पुराण घन्किन्थे । पूर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, इशान, वायब्य, नैऋत्य दिशा र कोण अनुसारका वास्तुशास्त्रीय संरचना सही ठाउँमै थिए । आधाभन्दा बढी संरचनाहरूमा नारी प्रवेश निषेध थियो । पंच बस्दा ठूले बाउ बस्ने चौकीका वरपर सबै भुँईमा सुकुल बिछ्याएर बस्दथे । ठूले बाउ चौकी माथि मेचमा आसिन हुन्थे । हाटबजार जाँदा दर्जन मान्छे हुन्थे ठूले बाउका साथमा । रोपाँई आदि बाजा बजाएरै हुन्थ्यो । गाउँले सबैलाई उर्दी गरिन्थ्यो । बाली भित्र्याँउन पनि त्यस्तै गरिन्थ्यो ।

नरेन्द्र सरले गाँउलेलाई तिखारे, अर्जापे पनि । त्यो ठूले बाहुले कचहरीमा चढने ढुंगो त फोकेकै हो । फोकेलाई चिहानमा ओडाउने ‘झण्डा’ त्यही हो भन्दै पाठ पारायण गरे, वकालत गरे । बिहानको सात बजेको थियो । चिसो मौसम भएकाले फोके गन्हाएको भने थिएन । ढलेको सात घण्टा बितिसकेको थियो । मध्यरातमै प्राणपखेरु गएको फोकेलाई अरु घर्तीहरूले रुँघेका थिए । वरपर अरुलाई भने बिहानपख जानकारी दिएका थिए ।

नरेन्द्र सर एकाएक सयको हारहारीमा मान्छे लिएर ठूले बाउका हवेली अघि पुगे । ठूले बाउ छक्क परेथे । विषयवस्तु ओकल्नासाथ ठूले बाउले नरेन्द्र सरमाथि हात बजारे । कुस्ताकुस्ती  पर्यो। ठूले बाउका तीन छोरा बेपत्ता भागे । बुहारीहरु र केटाकेटी रुनकरउन थाले, चिच्याउन थाले । ठूले बाउले सबैलाई धक फुकुन्जेल अपशब्द सिकाएर नानाभाँती गालीगलोज गरे । कोलाहाल भएथ्यो ठूलो बाउका आँगनमा । अत्याचार भएपछि ठूलोकान्छो र सानठूलेले आदेश पाए नरेन्द्र सरबाट । ठूले बाउलाई यिनै दुईले लछारपछार गर्दै भर्नि भर्यांगमुनि पुर्याए । मतानको बाहिरी भागमा डोरीले बाँधेर चारखुर डल्याए । मतानको दलानको बाहिरी थाममा बाँधेर डल्याए । अरु बाँकीले चौकीको ढुंगो उक्काए, उखले । पछिपट्टि धोइपखली गरे । दुई–दुई जनाले पालैपालो बोक्दै पारीपट्टिको पसिने पाखामा पुर्याए ।

धेरै जसोले फोकेको शव बोके । शव पँहेलो कपडाले बेरिएको थियो । ठूले बाउका आँगनको बिहानको बितन्डा मृत फोकेले देखिरहेथ्यो, सार्केलाई देखाइरहेथ्यो । मलामीमा शंख टुटेन, सुनसान रह्यो । बाटामा ठाउँठाउँमा लास बिसाउन पाएका थिए । यो पहिलो पटक थियो । दम्स्याइलो ठाउँमा खाल्ढो खने, फोकेलाई पुरे, छोपे । चिहानमाथि चिप्लो चप्लेटीको झण्डा ओडाए । मौनधारण गरे । नरेन्द्र सरले फोकेको जीवनी र श्रमसीपका गाथा बताए, घर फर्किए । सार्केले कपाल काट्नै परेन । नरेन्द्र सरबाट प्राप्त पँहेलो वस्त्र लगायो । सिलाई गारिएकै थियो । सात दिनमै किरिया सक्ने अनुमति पायो ।

नरेन्द्र सरले आफैंले बनाएको कर्मकाण्डी विधिशास्त्र अनुसार काजकिरिया गराए । दानदक्षिणा केही खर्च गरेन सार्केले । सार्केकी दिदी नचनी खाना पकाउँथी । सार्के लगायत सबै त्यही खाना खान्थे । सार्केकी जहान रुमाली घाँसदाउरा, वस्तुभाउ गर्थी । गान्टे र लाटी विद्यालय जान्थे । गाँउले सबै आ–आफ्नै काममा व्यस्त रहन्थे । नरेन्द्र सर काजकिरिया गराउथे । सात दिनमै सबै कर्म सकेथे । मासिक, वर्षान्त अनि श्राद्ध सबै सात दिनमै सिध्याए । धन्य फोके, धन्य सार्के ! धन्य नरेन्द्र सर !


(कथाकार ‘बालकृष्ण काफ्ले’उदयपुरमा जन्मेर त्यहीँ शिक्षण कार्यमा संलग्न छन् । एमए अंग्रेजी एवम् एक वर्षे बिएड गरेका काफ्लेका साहित्य सम्बन्धित रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।)

50% LikesVS
50% Dislikes