डा.पुष्करराज भट्टको लेख स्वदेश दैनिकसँगको सहकार्य


डा.पुष्करराज भट्टको लेख  स्वदेश दैनिकसँगको सहकार्य

स्वदेश उत्तर भारतको लोकप्रिय दैनिक हो । यस दैनिकले भारतीय हिन्दीभाषी क्षेत्रमा समाचार सम्प्रेषणका साथै साहित्यिक–सांस्कृतिक काममा समेत कार्य गर्दै आएको पाइन्छ । सन् २०२० देखि नेपालका साहित्यकार पनि यस पत्रिका र यसले गरेका कार्यसँग जोडिँदै आएका छन् । यसै सन्दर्भमा सन् २०२० र सन् २०२१ को कार्यक्रमसँग सम्बन्धित रहेर आफ्ना अनुभूति प्रस्तुत गर्दा खुसीको अनुभव भइरहेको छ ।

सन् २०२० मा भारत, ग्वालियरका साहित्यकार मित्र राजकमल सक्सेनाले मेरो एक लघुकथा स्वदेशको दिपावली विशेषांकमा प्रकाशित गराउनु भएको थियो । सो लघुकथा प्रकाशनपछि एकदिन उहाँले प्रस्ताव राख्नुभयो, “स्वदेशले नेपाल र भारतका साहित्यकार सम्मिलित लघुकथा गोष्ठी गर्ने कुरा गरेको छ । यस कार्यक्रमको सञ्योजन गर्ने जिम्मा मलाई दिएको छ । म के गरुँ ?”

उहाँको यस अनुरोधपछि मैले पनि सहमति जनाएँ । त्यसपछि उहाँको माध्यमबाट स्वदेश पत्रिकाका ग्वालियरका सम्पादक सुरेश हिन्दुस्तानीसँग चिनजान एवम् सम्पर्क भयो । सुरेश हिन्दुस्थानी, राजकमल सक्सेना र मेरो बिचमा पटकपटक भएका वार्तालापपछि इन्टरनेट गोष्ठीको खाका बन्यो । इन्टरनेट गोष्ठीमा नेपालको तर्फबाट मैले संयोजन गरेको थिएँ भने भारतको तर्फबाट राजकमल सक्सेनाले । पत्रिकाको सम्पादन समूहको तर्फबाट साथ दिनुभएको थिए सुरेश हिस्दुस्थानीले ।

सन् २०२० को गोष्ठी भारत, ग्वालियरका चिकित्सक एवम् लघुकथाकार एलएन लाहाले गरेका हुनुहुन्थ्यो । प्रमुख अतिथिका रुपमा हुनुहुन्थ्यो लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन । कार्यक्रमको सञ्चालनको जिम्मा मेरो थियो । नेपाली लघुकथाकार किशोर पहाडी, खेमराज पोखरेल, रचना शर्मा एवम्् भारतका राममूरत राही, सन्तोष सुपेकर, विणा सिंह आदिले लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रममा स्वागत सुरेश हिन्दस्थानीले एवम् स्वदेश दिपावली अंकको बारेमा प्रणय कुमारले आफ्ना विचार राख्नुभएको थियो । राजकमल सक्सेनाले कार्यत्रम संयोजकको मन्तव्यका साथै लघुकथा समेत वाचन गर्नुभएको थियो । सो कार्यक्रमको एक दुई महिनामै हामीले राजकमल सक्सेनालाई गुमाउन पुग्यौं । यो कार्यक्रमको समाचार र त्यसको बारेमा स्वदेश पत्रिकाले आफ्नो सम्पादकीय नै लेखेको थियो । कार्यक्रमको राम्रो प्रभाव परेको मैले अनुभव गरेँ ।

यस वर्ष पनि स्वदेशको दिपावली विशेषांकमा नेपाली साहित्यकार पुष्करराज भट्ट, रचना शर्मा र कुसुम ज्ञवालीले स्थान पाउनुभयो । लघुकथा प्रकाशित भए । कार्यक्रम गर्ने भनेर सम्पादक सुरेश हिन्दुस्थानीले खबर गरेपछि मैले पनि त्यसमा सहमति जनाएँ । यस वर्ष सन् २०२१ को कार्यक्रमका अध्यक्ष नेपाली लघुकथाकार हरिप्रसाद भण्डारी हुनुहुन्थ्यो । कार्यत्रमका प्रमुख अतिथि अमेरिकाको क्लालिफोर्नियाका प्रोफसेर सत परासरले आफ्ना आध्यात्मिक चिन्तन र विचार प्रस्तुत गर्नुभयो । कार्यक्रममा नेपालतर्फका सहभागीको परिचय डा. पुष्करराज भट्ट एवम् भारततर्फका सहभागीको परिचय सुरेश हिन्दुस्थानीले गराउनु भएको थियो ।

कार्यक्रममा नेपालको तर्फबाट कुसुम ज्ञवाली, रचना शर्मा, हरिप्रसाद भण्डारीले रचना वाचन गरे भने भारतबाट वीना सिंह, रश्मि चौधरी एवम् रीता सिंहले लघुकथा पाठ गर्नुभयो । कार्यक्रमको उद्घोषण भारतका प्रणय कुमार एवम् नेपालका डा. पुष्करराज भट्टले गर्नुभएको थियो । यस कार्यक्रममा सम्बोधन गर्दै नेपाली साहित्यकार डा. पुष्करराज भट्टले नेपाल र भारतका बिच अनेकन समानता रहेकोले साहित्य एवम् संस्कृतिका क्षेत्रमा मिलेर काम गर्नुपर्ने धेरै ठाउँ रहेको बताउनु भयो ।

नेपाल र भारतका बिचमा मिलेर काम गर्नुपर्ने क्षेत्र धेरै छन् । अझ त्यसमा पनि कलासाहित्यका क्षेत्रमा त धेरै संभावना रहेका छन् । यी संभावनालाई कसरी उपयोग गर्ने बारेमा अझ व्यापक छलफल बाँकी छ । विशेषतः भारत दक्षिण एशियाको ठुलो देश भएकोले उसले यस कार्यमा उदारता देखाउनु आवश्यक छ । ससाना देशहरुलाई हेर्ने दृष्टि र त्यस देशका प्रतिभाप्रति गर्ने व्यवहारमा उदारता देखाउने हो भने यसले सार्थक परिणाम आउन सक्छ । जीवनजगतलाई हेर्ने दृष्टिमा आआफ्नै चिन्तन एवम् सोच हुनसक्छ तर एकअर्काको सहअस्तित्वलाई बुझेर काम गर्ने भने दुवै देशका जनता एवम् सांस्कृतिकर्मीका बिचमा सहकार्यका क्षेत्र बढ्दै जाने देखिन्छ । यसलाई अझ व्यापक स्तरमा विकास गर्न सहअस्त्विबोधको भावना बढाउनु आवश्यक देखिन्छ ।