राष्ट्रिय जनगणना २०७८ समापन: केन्द्रीय तथ्याङ्क विभाग


लेखक : लेखापढी      १० मंसिर २०७८, शुक्रबार १५:०२ मा प्रकाशित     
राष्ट्रिय जनगणना २०७८ समापन: केन्द्रीय तथ्याङ्क विभाग

राष्ट्रिय जनगणना २०७८ कुनैपनि प्रकारको अवरोध बिना सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो ।

राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरु सामाजिक सञ्जालमा उब्जिएको भएपनि विभागले सम्बन्धित पक्षहरुसँग छलफल गरी जनगणना कार्यलाई अगाडी बढाएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताए ।

जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उनले केन्द्रीय तथ्याङ्क विभागले विवरण इन्ट्री गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिए । एक वर्षपछि जनगणनाको रिपोर्टहरु निकाल्न सुरु गर्ने र दुई वर्ष भित्रमा सम्पूर्ण जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उनको भनाई छ । जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने महानिर्देशक श्रेष्ठले बताए ।

उनले भने– ‘सबैको लेखाजोखा गर्दाखेरी पहिलेको प्रोजेक्शन गरिएको जनगणनाको ३ करोडको हाराहारीको जनसंख्या हो । त्यसको लगभग आसपासमा हामी पुगौँला नभए २ करोड ८० लाख सम्म पुग्छ कि भन्ने अहिलेको प्रारम्भिक अनुमान मात्र हो । यसको इन्ट्री भइसकेपछि त थाहा हुन्छ, यद्यपि जनगणना सम्पन्न भएको मंसिर मसान्तसम्ममा सबै जिल्ला जनगणना कार्यालयबाट केन्द्रमा आउँछ । केन्द्रमा आइसकेपछि हामीले तथ्याङ्क इन्ट्री गर्ने काम गर्छौ ।’

उनले जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र दिन सक्ने बताए । उनले भने, ‘डाटा इन्ट्री गर्न ६ देखि ८ महिना लाग्ने अनुमान गरेका छौँ । डाटा इन्ट्री सकिएपश्चात त्यसको रिपोर्ट निकाल्ने क्रम जारी गर्छौ । आजको एक वर्षपछि मात्र नेशनल रिपोर्टदेखि डिटेल्स् रिपोर्टहरु निकाल्ने क्रम जारी हुँदै जान्छ । यो सँगसँगै अबको दुई वर्षमा हाम्रो सेन्ससको इक्टीभिटिज सबै कम्प्लिट हुन्छ । नेपालको जनसंख्याको प्रारम्भिक नतिजा आजको मितिले तीन महिनाभित्र दिन सक्छौँ ।’

महानिर्देशक श्रेष्ठले केही गणकहरुले जनगणनाको समयमा पेन्सिलको प्रयोग गलत नियतले नगरी सुपरिवेक्षकलाई राम्रो अक्षर देखाउनका लागि गरिएको स्पष्ट पारे । दुर्गम र पुग्न कठिन ठाउँहरुमा पनि गणकहरुले जनगणना गरेको उनले बताए । गणकहरु तिङ्कर र छारुङसम्म पुगेर जनगणना गरेको उनले उल्लेख गरे ।

महानिर्देशक श्रेष्ठले भने– ‘मुख्य गणनाको सन्दर्भमा पास उपलब्ध भएको अवस्था रहेन । नरहेपछि हाम्रा साथीहरु मान्छे हिँड्ने बाटो नै होइन, जंगल नै जंगलको बाटोमा तीन दिन लगाएर रुखका हाँगाहरु समातेर माथिसम्म पुग्नुभयो । तिङ्कर र छारुङमा पनि सम्पन्न गर्नुभयो । बाटोबाट आफै फर्किन सक्ने अवस्था थिएन । हिजो उहाँहरुलाई हेलिकप्टरबाट सदरमुकाम खलंगा ल्याउने काम सम्पन्न गर्यौँ ।’

केन्द्रीय तथ्याङ्क विभागले देशभरका सम्पूर्ण भू–भागमा जनगणना सम्पन्न गरिसकेको बताएको छ । केही विवादित क्षेत्रहरुमा भने कुटनैतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ । 
रातोपाटीबाट 

100% LikesVS
0% Dislikes