सुरक्षित सडक: आजको आवश्यकता


सुरक्षित सडक: आजको आवश्यकता

युवराज भट्ट र डा.पुष्करराज भट्ट

१. विषय प्रवेश
सुरक्षित सडक आज विश्वको नारा बनेको छ । सडक सुरक्षाका कारण मानिसको जीवनको रक्षा हुनाका साथै विभिन्न दुर्घटनाबाट बचावट हुन्छ । आज कतिपय सक्षम, प्रतिभावान व्यक्ति सडक दुर्घटनामा परेर अपांग हुनुपुगेका छन्, जीवन गुमाउन पुगेका छन् । सारा परिवारको खुसी हराएको छ । दिनदिनै समाचारमा आइरहने दुर्घटनाका खबरसँगै परिवारजनमा पीडा थपिँदै गएको छ । आज सडक सुरक्षा एकाध व्यक्तिको मात्र नभएर सिंगो मूलुककै चासोको विषय बन्न पुगेको छ । राज्य, समाज एवम् व्यक्ति स्वयं यसका लागि सचेत बन्नुपर्दछ । सरोकारवाला पक्षको सचेतताले सडक सुरक्षा प्रभावकारी बन्न सक्दछ र हाम्रो जीवनलाई व्यवस्थित र जोखिमपूर्ण बनाउन सकिन्छ । संसारका विभिन्न देशमा सडक सुरक्षाका विभिन्न उपायको खोजीका साथै नागरिकको बाँच्न पाउने अधिकारको पक्षमा काम भएता पनि हाम्रो देशमा भने यस सम्बन्धमा कमै काम भएको छ तसर्थ सडक सुरक्षा आजको हाम्रो प्राथमिकताको विषय बन्नुपर्दछ । यस विषयले अब घरदेखि सदन हुँदै राज्यका प्रमुख अंगमा समेत पुगेर बहसको विषयवस्तु बन्नुपर्दछ ।

२. दुर्घटनाको कारकतत्व असुरक्षित सडक
आज जे जति पनि दुर्घटना भएका छन्, त्यसको कारकतत्वका रुपमा असुरक्षित सडक रहेको छ । आज जनताले निर्वाध रुपमा सडकको उपयोग गर्न पाउनुपर्ने माग जताततै उठेको भएपनि यसका लागि सम्बन्धित पक्षको ध्यान जान सकेको छैन । आज निर्माण कार्यका नाममा सडकमा थुपारिएको निर्माण सामग्रीका कारण दुर्घटना हुनपुगेको छ । सडकमा छोडिएका छाडा गाइवस्तुले सडकमा सवारी साधनको निर्वाध आवागमनमा अवरोध सिर्जना गरेका छन् । मानिसले सडकमा फोहर फ्ँयाक्ने, बालबालिकाको उचित हेरचाह गर्न नसकेर सडकमा छोडिदिने, सडकमा व्यापार गर्ने जस्ता कार्य गरिरहेका छन् । सडकमा अव्यवस्थित किसिमले सवारी साधन राख्ने, बेलाकुबेला बन्दहडताल जस्ता गतिविधि गर्ने र व्यक्तिगत समस्यालाई लिएर सडक सञ्चालनमा अवरोध गर्ने, आफ्ना राजनीतिक–सामाजिक मागलाई लिएर सडकमा मानिसको निर्वाध आवतजावत बन्द गराउने र दुःख दिने कार्य गरेको पाइन्छ । आज मानिसले सडकको दोहन गरेको छ । सबले आफ्नो माग पुरा गर्नका लागि सडकको दुरुपयोग गरेका छन् ।

सडक सबैको हो, यसलाई सबैको बनाउनु पर्छ । सडकप्रतिको लापरवाहीका कारण यो कसैको पनि बन्न सकेको छैन । हिजोका दिनमा मानिसका आर्थिक, सामाजिक एवम् सांस्कृतिक गतिविधि सिमित थिए । सवारीसाधन सिमित थिए । मानिसको जीवन कम भागदौडपूर्ण थियो । आज सबै दौडिरेहका छन् । आफ्नो कामको चापका कारण आफ्नो वरपरको वातावरण बुझ्ने र त्यस अनुसार आफ्नो जीवनलाई व्यवस्थित गर्ने सोच कसैमा छैन । आज साना सवारी साधनमा भएको मानिसले पैदल यात्रुको दुर्घटना गराएको छ । ठुला सवारी साधनले साना सवारी साधनमा भएको मानिसको दुर्घटना गराएको छ । राजमार्गमा हिँडेका सवारी साधनले सयौं मानिसको जीवन असुरक्षित बनाएका छन् । हामी जोखिमै जोखिमको जीवन बोकेर गन्तव्यहिन यात्रामा निस्केका छौं । कुन दिन जीवनको यात्रा समाप्त हुने हो, थाहा छैन । दौडधुपपूर्ण जीवनको व्यस्ततामा मानिसले अरुको जीवन मात्र जोखिममा पारेको छैन, आफ्नो जीवनका निमित्त समेत संकट निर्माण गरेको छ ।

३. दुर्घटनाको कारणका रुपमा मानवीय कमजोरी
मानवीय कमजोरीका कारण अधिकांश दुर्घटना भएका छन् । सवारी साधन चलाउने मानिस मात्र नभएर सडकमा भएका यात्रु समेत सडक सुरक्षाप्रति सचेत भएनन् भने त्यसले दुर्घटना निम्त्याउँछ । आजका दिनमा हामीले सडक सुरक्षाका कारण खोज्ने हौं भने सडक दुर्घटनाको मूख्य कारक मानिसको लापरवाहीपूर्ण क्रियाकलाप नै अगाडी आउँछ । सडक दुर्घटनाको मूख्य कारकतत्वका रुपमा रहेको मानिसले आफ्ना आनीबानी, व्यवहारमा सुधार नल्याउने हो भने ऊ आफ्ना लागि मात्र नभएर अरुको पनि जीवनको यमराज बनेर उपस्थित हुन्छ । आज कैयौं प्रतिभावान, होनहार जीवनको हरण भएको छ, परिवारको खुसी खोसिएको छ अनि समाजले योग्य नागरिक गुमाएको छ । सडक दुर्घटनाको मूल कारकतत्वका रुपमा रहेको मानवका कारण ९६ प्रतिशत दुर्घटना भएका छन् भने चार प्रतिशत सो समयको अवस्थाका कारण भएको छ । आज सामान्य नागरिक सचेत नभएमा उसले गराउने नोक्सानीको प्रतिशत कम हुन्छ तर राज्य एवम् राज्यका निकाय सचेत नभएमा त्यसको प्रतिशत बढी हुन्छ । एक पैदल यात्रुमा सचेतताको मात्रा कम हुनसक्छ तर सडक सुरक्षाको जिम्मा लिएको ट्राफिक वा सुरक्षाकर्मीको जिम्मेवारी अझ बढी हुन्छ । अझ त्यसमा पनि नीतिनिर्माणको तहमा रहेका जिम्मेवार पक्षको भूमिका झन व्यापक हुन्छ ।

दुर्घटनाको कारकतत्वका रुपमा रहेको मानिसका ससाना गल्तीले पनि जोखिम बढाएको हुन्छ । मानौं सडकमा कुनै मानिसले फलफूल वा तरकारी फालेको छ भने त्यसले सडकमा हिँडने यात्रु दुर्घटनाग्रस्त भएर जीवन जोखिममा पर्नसक्छ । सडकमा अव्यवस्थित किसिमले पार्किंग गर्दा त्यसले सडकमा दुर्घटना जन्माउँछ । सडकमा व्यापारव्यवसाय गर्दा सडकमा हिँडने मानिसको अधिकार हनन हुन्छ । सडकपेटीको अभावमा पैदल यात्री बिच सडकको किनार वा सडकको बिचमा हिँडन पुग्दा सवारी चालक अलमलिएर दुर्घटना हुनपुग्छ । सडकमा बालबालिका, गाइवस्तु आदिलाई बचाउन खोज्दा सवारी साधन आपसमा ठोकिएर पनि दुर्घटना भएका छन् ।

४.अकुशल र लापरवाह चालक: दुर्घटनाका कारक
सडक सुरक्षाका बाधक तत्वका रुपमा अकुशल र लापरवाह चालक रहेका छन् । ससाना सवारी साधनदेखि ठूला सवारी साधनको पनि सञ्चालनमा भएको लापरवाहीले मानिसको जीवनको जोखिमको मात्रा बढाउँदै लगेको छ । सामान्यतया मानिसको भीडभाड कम हुने ठाउँमा कम दुर्घटना हुने गर्दछ र बढी भीडभाड हुने ठाउँमा बढी दुर्घटना हुने गर्दछ । सवारी चालक सडक सुरक्षाका नियमप्रति अनभिज्ञ भयो वा उसले जानीजानी सडक सुरक्षाका नियमको बेवास्ता गर्यो भने ऊ सडकमा दुर्घटनाको कारक बन्दछ । कुनै पनि सवारी चालकलाई सडकमा के कसरी साधन चलाउने भन्ने ज्ञान हुनैपर्दछ । उसलाई ट्राफिक नियम थाहा हुनैपर्दछ । आफ्नो सवारी साधनलाई कुन दिशामा लग्ने, कुन अवस्थामा गति थपघट गर्ने र कुन अवस्थामा विश्राम गर्ने अनि अरु साधनलाई पालो दिने बारेमा सचेत हुनुपर्दछ । मानिसमा नियमको जानकारी मात्र भएर पुग्दैन, त्यसप्रति उसको इमान्दार प्रतिबद्धता चाहिन्छ । सबै किसिमका नियम त थाहा छ तर छिटो पुग्ने नाममा नियमको अपहेलना गर्ने कार्यले दुर्घटनाको जोखिम रहिरहन्छ । हामीले इमान्दार र सार्थक पहल नगर्ने हो भने हामीले आफूलाई जनताको जीवनका भक्षकका रुपमा काम गरिरहेका हुन्छौं । आज मानिसले जीवनदाताका रुपमा उभिनुपरेको छ, जीवन भक्षकका रुपमा होइन । अरुका जीवनका खुसी खोस्नेले आफू पनि आँसुको सागरमा डुबुल्की लाउनुपर्ने अवस्था सिर्जना हुन्छ ।

५. जोखिम न्यूनिकरण गर्न के गर्ने ?
सडक सुरक्षा जोखिम न्युनिकरणका लागि आज हरेक नागरिकको प्रतिबद्धता आवश्यक छ । आज मानिसले बिहान व्युँझेदेखि साँझ निदाउँदासम्म सडक र सवारी साधनको साथमा हिँडनुपरेको छ । एउटा सानो स्कुल बालकदेखि जीवनको उत्तरार्धमा पुगेका मानिसले पनि सडक सुरक्षासम्बन्धित ज्ञान राख्नु अनिवार्य भइसकेको छ । सडकमा कसरी हिँडने ? कसरी बाटो काटने ? सवारी साधनको उपयोग कसरी गर्ने ? पैदल हुँदा वा यात्रामा हुँदा केकस्तो व्यवहार गर्ने ? यस विषयमा सचेत नहुने हो भने मानिस आफ्ना लागि आफै समस्या निर्माण गर्दछ र उसका लागि जोखिम आउने गर्दछन् । सामान्य सडकमा हिँडने मानिसका लागि जोखिमका संभावना जति हुन्छन्, राजमार्गमा हिँडने मानिसका लागि जोखिमका संभावना त्यतिकै बलवान हुन्छन् । आज मानिसले जोखिमका डरले यात्रा रोक्ने हैन कि जोखिम न्यूनिकरण गर्न त्यसै किसिमको सचेतना अपनाउनु आवश्यक छ ।

सडक यात्रुको पहिलो अधिकार हो । सडकमा यात्रुले निर्वाध किसिमले आउनजान पाउनुपर्छ । सडकमा अवरोध गर्ने कार्यलाई दण्डनीय अपराध मानिनुपर्छ र त्यसै अनुसार कानुनको निर्माण हुनुपर्दछ । कानुनको निर्माण गरेर मात्र पुग्दैन, त्यसलाई इमान्दारितापूर्वक लागु गराउने संयन्त्र पनि आवश्यक छ र इमान्दार पालना गराउन मानिसको पनि त्यतिकै आवश्यकता छ । सडक सुरक्षा सम्बन्धमा प्रचारात्मक कार्य आजको आवश्यकता हो । सडक उपयोगकर्ता जनतालाई सचेत बनाउनु सचेत नागरिक समूह, राज्यको उत्तरदायित्व हो । सडकलाई कसरी उपयोग गर्ने सम्बन्धमा विद्यालय तहदेखि नै सचेतनामूलक कार्यक्रम एवम् पाठ्यसामग्री निर्माणको आवश्यकता देखिन्छ । ससाना बालबालिकालाई सचेत बनाउने हो भने उनीहरु त्यसप्रति सजग हुन्छन र त्यसलाई लागु गराउने कार्यमा सहयोग बन्न सक्छन् । सडक सुरक्षाका विषयमा सवारीसाधनका उपयोगकर्ता हरेक नागरिक सचेत बन्नु आवश्यक छ यसर्थमा ट्राफिक नियमको परिपालनाको पक्षका साथै त्यस सम्बन्धित प्रचारात्मक कार्यले तीव्रता पाउनु पर्दछ ।

सडक सुरक्षाका लागि सबैभन्दा जिम्मेवार सवारीसाधन चलाउने व्यक्ति स्वयं हुनुपर्दछ । सवारी चालकले सवारी साधन चलाइरहँदा मदिराको सेवन गर्ने, मोबाइल चलाउँदै यात्रा गर्ने, कुराकानीमा व्यस्त हुने, सम्भावित जोखिमको बेवास्ता गर्दै लापरवाही गर्ने कार्यले जोखिम बढाउँछ । यात्रमा आफ्नो साधन छिटो गन्तव्यमा पुर्याउन अरुलाई उछिन्ने क्रममा दुर्घटना भएका छन् । सवारी साधनको गति नियन्त्रणदेखि त्यसको दिशा निर्धारणमा समेत चालकले सजगता अपनाउनु पर्छ । एक सवारी साधनको चालकले सम्पुर्ण यात्रीको जीवन बोकेर हिँडेको हुन्छ । आफ्ना यात्रीको जीवनप्रतिको सम्वेदनशीलता नहुने हो भने चालकले सबैको जीवनमा जोखिम बढाउँछ ।

नेपालमा भएका सडकको गुणस्तर अत्यन्त कमजोर छ । सडकमा हिँडने यात्रुको चापलाई कसरी व्यवस्थित गर्ने सम्बन्धमा स्पष्ट कार्यदिशा नहुँदा नागरिकको जीवन जोखिममा पर्दै आएको छ । सडकको निर्माण कुन समयमा गर्ने, सडकमा भएका बिजुलीका खम्बा, पानीका पाइपको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग कसरी समन्वय गर्ने बारेमा निर्माणकर्ता निकाय र राज्य स्वयंले सचेतता अपनाउनु जरुरी छ । सडक निर्माणमा हुने लापरवाही, गुणस्तरहिनता, सडकको क्षेत्रफल विस्तारमा हुने बेवास्ताले जोखिम निम्त्याएको छ । कुन किसिमको सडकमा के कस्ता साधन चल्न दिने र त्यसको अनुगमनलाई कसरी प्रभावकारी बनाउने विषयमा ध्यान नदिने हो भने सडक कमजोर बन्दै जाने संभावना बढिरहेको पाइन्छ ।
नेपालमा सवारी साधन प्रयोगकर्ताको योग्यता परिक्षण कार्यमा लापरवाही र त्यसमा हुने अनावश्यक आर्थिक चलखेलका कारण अयोग्य सवारीसाधन चालकले दुर्घटना गराएका घटना बढ्दै गएका छन् । सवारीसाधन चालकको उचित परीक्षणपछि मात्र लाइसेन्स वितरण गर्ने र त्यसको उचित अनुगमन गर्नुपर्ने आवश्यकता छ । यदि अयोग्य चालक निर्माण गर्दै जाने हो भने ती चालकले गर्ने दुर्घटनाको मात्रा बढ्दै जाने देखिन्छ ।

६. अबको बाटो कता ?
समयसँगै चुनौती थपिने क्रम जारी छ । मानिसले आफ्ना जीवनका संकट समाधानका उपाय खोजेर जीवनलाई अझ व्यवस्थित र सहज बनाउँदै लगेको छ । नेपालको सन्दर्भमा सडक सुरक्षा प्रमुख प्राथमिकताको क्षेत्र मानिनुपर्दछ । यसका निमित्त राज्यका विभिन्न तहका साथै स्थानिय नागरिक समाज, दबाव समूह, सवारीसाधन सम्बन्धित संघसंस्थाका साथसाथै सडक प्रयोगकर्ता सबै मानिसको सचेततापूर्ण सार्थक हस्तक्षेपको आवश्यकता छ । जनसंख्या विस्तारसँगै मानिसका चाहना, आकांक्षाका साथै जीवनगति पनि बढेको छ । बढेको गतिसँग जीवनको सही व्यवस्थापन आजको खाँचो हो । यसका लागि नागरिक तहमा मात्र नभएर राज्यका जिम्मेवार निकायसम्म सडक सुरक्षा प्राथमिकताको विषय बनेको खण्डमा हाम्रो सडक सुरक्षा प्रभावकारी बन्ने देखिन्छ ।