छाङरुमा जनगणना गर्न गएका गणक फिर्ता; कारण यस्तो रहेछ


छाङरुमा जनगणना गर्न गएका गणक फिर्ता; कारण यस्तो रहेछ

दार्चुला – जिल्लाको व्यास गाउँपालिका–१ स्थित तिंकर र छाङरुमा जनगणना गर्न गएका गणक फिर्ता भएका छन्। कठिन बाटोका कारण हिँड्न नसकेर गणक राजेन्द्र कार्की दुम्लिङबाट सदरमुकाम खलंगा फर्किएका हुन्।

भारतीय प्रशासनले बाटो प्रयोग गर्न अनुमति नदिएपछि शुक्रबार बिहान ३ सदस्यीय गणकको टोली नेपाली बाटो भएर छाङरु र तिंकरतर्फ गएको थियो। टोलीमा रहेका गणक कार्की हिँड्न नसकेपछि फर्किएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताए’, उनले भने, ‘बाटो बिग्रिएकाले हिंड्न नसकेर गणक फर्किए।’ जोखिम मोलेर २ जना भरिया लिएर हिँडेको टोली गन्तव्यमा नपुगी फर्किएको पाण्डेले बताए। 

दुम्लिङबाट छाङरु र तिंकरसम्म कुनै गाउँ छैन। जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकृत खगेन्द्र कार्की, गणक राजेन्द्र कार्की र एक जना कार्यालय सहयोगी छाङरु र तिंकरका लागि गएका थिए। गणक हिँड्न नसकेर फर्किएपछि सहायक जनगणना अधिकृत, कार्यालय सहयोगी मात्रै त्यसतर्फ लागेका छन्। भारतले आफ्नो भूमिको बाटो प्रयोग गर्न नदिएपछि नेपाली भूमिकै बाटो भएर शुक्रबार जनगणना टोली तिंकर र छाङरुका लागि खलंगाबाट हिँडेको थियो।
स्थानीयका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट नेपाली बाटो भएर छाङरु र तिंकर पुग्न बाटो कठिन छ।

खलंगाबाट करिब ३ दिन पैदलको जोखिमपूर्ण पैदलयात्रामा छाङरु र तिंकर पुगिन्छ। तिंकर र छाङरुमा एक सय २३ परिवारको बसोबास छ।तिंकर र छाङरुमा पहिलो चरणको सुपरिवेक्षण मात्रै हुन सकेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले २५ कार्तिक र ३० कार्तिकमा जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरण गरिदिन धार्चुला प्रशासनलाई पत्राचार गरेको थियो। तर, भारतीय प्रशासनले भने बाटो बिग्रिएको बहाना बनाउँदै अनुमति नदिएको प्रमुख जिल्ला अधिकार सिद्ध राज जोशिले बताए।
-अन्नपूर्णबाट