पाहुना संगको कर्म


लेखक : लेखापढी      ४ मंसिर २०७८, शनिबार ०५:२१ मा प्रकाशित     
पाहुना संगको कर्म

आगोको तापमा उम्लिएको चिया जस्तै
भकभकी उमाल्छु मेरो दु:खी मन,
लिटरका लिटर लोकल तीनपाने
संगसंगै
रित्याउछु मेरो बैंसालु यौवन।

शरीर र लाज
एउटै भाडोमा पकाईदिन्छु
ताल परे
आफ्नो ‘श्री’ नै बेचिदिन्छु।

यात्रीहरु आउछन्
खाली थाल थाप्छन्-
उनीहरुकै लागी पकाएर
थमथिलो पारेको शरीर पस्किदिन्छु,
रित्तो गिलास थाप्छन् –
शरीरसंगै पकाएको
लाज पिलाएर प्यास मेटाइदिन्छु।

कर्म यस्तै गर्दै छु-
कहिले
विदीर्ण मनको
सहारामा
पाउनाको हातको मुठीमा
खेलौना बनेर कब्जा भइदिन्छु

कहिले
जिर्ण तनको
सारथी भएर
फिक्स्ड प्राइजमा
आफैलाई बेचिदिन्छु ।

म यता आफूले आफूलाई नै बच्दै छु,
उता
जिल्ला प्रशाशन कार्यालय बाढ्दै छ नागरिकता
र भन्दै छ –
त होस नेपाली छोरी
यो देशको चेली

सुन्दा यस्तो-
अचम्म मान्छु,
गहबाट बहका बाढी ल्याइदिन्छु
फेरी पनी
पेट पाल्नै पर्ने रहेछ भन्ठान्छु
आफ्नो शरीर बेच्न तम्सिन्छु।

हिजो कोहि कसैले
कोठीमा बेचिदिएको थियो मलाई,
आज स्वयम म आफै
आफैलाई बेचिरहेछु-
भट्टी कोठामा।

माइकबाट बनिरहेछु,
मेरो जात छैन
धर्म छैन
देश छैन
कुनै एक पुरुष त छैन
अनी कसरी हुन्छु म –
नेपाली छोरी
अनी
यो देशको चेली ??

तर मान्दैन मेरा यी कुरा प्रशासन

उपनि भनिरहन्छ:
त होस्
नेपाली छोरी
अनी
यो देशको चेली

तर प्रमाणित गर्न सक्दैन।

प्रिय प्रसाशन,
बनाउन मन छ मलाई यो देशको चेली
त्यसो भए,
बन्द गराइदेउ-
आखाबाट बगेका कोशीका अशान्त छालहरु
रिहा गराइदेउ-
झ्यालखाना भित्र पसेका बेचैन लहरहरु
अनी
बन्द गरिदेउ-
मलाई डाम्ने ठालुका गोलभेडा जत्रा नेत्रहरु।

यो सब गर्नको लागी-
दिलाइदेउ मलाई रोजगारी
अनी
गरिदेउ मलाई मुक्त
यो देहव्यापारको संसारबाट।

सक्दैनौ नि पुरा गर्न मेरा माग,
त्यसैले
मैले भट्टी चलाइरहेछु
अनी
पाहुना संगको कर्म गरिरहेछु।


आयुष बडाल

100% LikesVS
0% Dislikes