राप्रपाको प्रदेश अधिवेशन सम्पन्न, सबै प्रदेशमा प्रतिनिधि चयन


लेखक : लेखापढी      ३० कार्तिक २०७८, मंगलवार ०३:५७ मा प्रकाशित     
राप्रपाको प्रदेश अधिवेशन सम्पन्न, सबै प्रदेशमा प्रतिनिधि चयन

काठमाडौं । राप्रपाको आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको प्रदेश अधिवेशन आज सम्पन्न भएको छ । केही प्रदेशमा सर्वसम्मत र केही प्रदेशमा मतदानबाट परिणाम आएको छ । 

प्रदेश नम्बर १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा, गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ र लुम्बिनी प्रदेशमा ऋषिराज देवकोटालाई पराजित गर्दै प्रदीपकुमार उदय मतदान प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका छन् । यस्तै, प्रदेश नम्बर दुईमा भरत गिरी, वाग्मती प्रदेशमा विक्रमबहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको पार्टीको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले आइतबार एकैदिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मङ्सिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ । श्रेष्ठकाअनुसार ४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनोट हुने कार्यतालिका रहेको छ । –रासस

100% LikesVS
0% Dislikes