काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा सानो दियोबाट सुरु भएको आगो फैलिँदा २१ घर पूर्णरूपमा क्षतिग्रस्त भए । गएराति साढे १२ बजेदेखि बिहान ४ बजेसम्म भीषण आगलागी भयो ।
दमकल नहुँदा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आगलागी नियन्त्रण गर्न घर भत्काएर ढुङ्गा, माटो फालेर आगोलाई नियन्त्रणमा लिने प्रयास गरे । आगलागी भएको केही समयमै जिल्ला प्रशासन कार्यालय मुगु, जिल्ला प्रहरी कार्यालय मुगु, स्थानीय सबैले त्यसबारे जानकारी पाइसकेका थिए । एक स्थानीयले भने- आगलागी भएपछि ढुङ्गा, माटो र पानीले आगो निभाउन स्थानीय, प्रहरी, प्रशासनले प्रयास नगरेको होइन । तर, ढुङ्गा माटो र सामान्य पानीले मात्रै कहाँ नियन्त्रण हुन्थ्यो र आगो । आगलागी भएको समयमै थाहा पाएर धन्न मानवीय क्षति चाहिँ भएन,” |
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दमकल नहुँदा आगो नियन्त्रण गर्न लामो समय लागेको बताए । ‘‘दमकल थिएन । रातिको समयमा आगलागी भयो । दमकल पनि भएन प्रयाप्त पानी पनि भएन । करिब पाँचघण्टाको प्रयासपछि बिहान ५ बजेतिर बल्लबल्ल आंशिक रूपमा आगलागी नियन्त्रण गर्न सकियो,” उनले भने ।
दमकल नभएकै कारण २१ घरपरिवार घरबारविहीन भएका छन् । प्रशासनकाअनुसार घरबारविहीन परिवारलाई नजिकैको आफन्तकोमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराई दमकल नहुँदा आगो नियन्त्रण गर्न थप एउटा घर भत्काउनु परेको जानकारी दिए । ‘‘२१ वटा घरमध्ये एउटा घर हामीले आगो नियन्त्रणमा लिनका लागि भत्कायौँ । यद्यपि घर भत्काउनुको विकल्प पनि थिएन । अहिले आगो नियन्त्रणमा छ,” उनले भने ।
आगलागीपछि बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले स्थानीय तह र स्थानीय संघसंस्थाहरूबाट तत्काल राहत उपलब्ध गराउन तथा प्रदेश सरकार र केन्द्रीय सरकारलाई क्षतिपूर्ति दिन पहल गर्ने निर्णय गरेको छ । ‘‘यस्तो जाडोमा घरबारविहीन परिवारलाई टेन्टमा राख्न सकिँदैन । उनीहरूलाई भाडाका घर खोजी गरी त्यहाँ व्यवस्थापन गर्ने जिम्मा स्थानीय तह र संघसंस्थाहरूलाई जिम्मेवारी दिइएको छ । अन्य खाली घरहरू प्रशस्तै छन । तत्काल खाली रहेका घरहरूमा व्यवस्थापन गरिनेछ,” प्रजिअ महतले भने ।