अस्ट्रेलिया बन्यो टी-२० विश्वकप क्रिकेट च्याम्पियन


लेखक : लेखापढी      २९ कार्तिक २०७८, सोमबार ०३:१८ मा प्रकाशित     
अस्ट्रेलिया बन्यो टी-२० विश्वकप क्रिकेट च्याम्पियन

काठमाडौं । अष्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।

अस्ट्रेलियाले पहिलो पटक टी-२० विश्वकप जितेको हो। यसअघि अस्ट्रेलियाले सन् २०१० को फाइनलमा इंग्ल्यान्डसँग पराजित हुँदा च्याम्पियन हुने अवसर गुमाएको थियो। 

अस्ट्रेलियाले एकदिवसीय विश्वकपको उपाधि भने पाँच पटक जितेको छ।

यता न्युजिल्यान्ड टी-२० विश्वकपको पहिलो पटक फाइनलमा पुगेको हो। न्युजिल्यान्ड उपाधि जितेर इतिहास बनाउन भने  असफल भयो। न्युजिल्यान्ड सन् २०१९ को एकदिवसीय विश्वकपको पनि फाइनलमा पुगेको थियो। त्यतिबेला न्युजिल्यान्डलाई इंग्ल्यान्डले हराएको थियो।

आइतबार दुबईमा  न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले २ विकेटको क्षतिमा १८.५ ओभरमा पूरा गर्‍यो।

अस्ट्रेलियाको जितमा मिचेल मार्सले अर्धशतक प्रहार गरे। उनले नटआउट ७७ रन जोड्ने क्रममा ५० बल खेलेर ६ चौका र ४ छक्का प्रहार गरे। ग्लेन म्याक्सवेलले नटआउट २८ रन जोडे। म्याक्सवेलले १८ बलमा ४ चौका र १ छक्का हिर्काए।

100% LikesVS
0% Dislikes