सन् २०२२ का उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल; लोन्ली प्लानेट


लेखक : लेखापढी      २० कार्तिक २०७८, शनिबार ०३:३० मा प्रकाशित     
सन् २०२२ का उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल; लोन्ली प्लानेट

काठमाडौँ- ट्राभल गाइडबुक लोन्ली प्लानेटले नेपालको मुस्ताङलाई सन् २०२२ मा घुम्नैपर्ने उत्कृष्ट १० गन्तव्यको सूचीमा राखेको छ । आगामी वर्ष घुम्नैपर्ने दश देशमध्ये नेपाल आठौँ स्थानमा परेको छ । सीएनएनले आफ्नो पछिल्लो आलेखमा नेपाल र सगरमाथा एक अर्काको पर्यायवाचीको रुपमा उल्लेख गर्दै हिमाली राज्य नेपाल विश्वको सबैभन्दा अग्लो हिमाल आरोहण नगर्ने यात्रुहरूका लागि पनि धेरै रोचक विषयहरु प्रस्ताव गरेको छ ।

सीएनएनले यसको पछिल्लो फिचरमा गाइडबुकले पहाडी जिल्ला मुस्ताङलाई विशेष रुपमा उल्लेख गरेको छ । मुस्ताङको दुर्गम क्षेत्रहरुमा पदयात्रीहरूले उच्च मरुभूमिको अनुभव गर्न सक्नेछन् भने पदयात्राको बीच बीचमा रहेका होमस्टेमा स्थानीय संस्कृतिको मज्जा लिनुको साथै स्थानीय खानाको मज्जा लिन सकिनेछ । नेपालको हिमाली विशेषताका खानेकुराहरु जस्तै याक बटरसँग कफि र ‘कोथे’ शैलीमा आधा फ्राइड र आधा स्टिम गरेको नेपाली विशेषताको ‘मःमः’ को स्वाद समेत लिन पाइनेछ ।–सीनएनएनले आफ्नो आलेखमा उल्लेख गरेका छन् । 


गण्डकी प्रदेशको एउटा दुर्गम जिल्ला हो मुस्ताङ जुन समुद्री सतहभन्दा ३६८२ मिटर उचाईमा रहेको छ । घरेलु पर्यटकको लागि पनि मुस्ताङ अहिले लोकप्रिय यात्रा गन्तव्यको रुपमा विकसित भइरहेको छ । कोरोना महामारीको लकडाउनमा उकुसमुकुस भएका आन्तरिक पर्यटकहरु नेपालकै विभिन्न ठाउँहरुको अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङ जानेको संख्या पनि बाक्लिएको छ। दशैं र तिहारको बीचमा लामो समय बिदा मिलाएर घुम्न निस्किने क्रम बढेसँग मुस्ताङका होटल र लजहरु भरिभराउ देखिएको छ ।

देशभित्र र बाहिरका यात्रुहरु विशेषत मुक्तिनाथ मन्दिरको दर्शनार्थ यता हानिने गरेका छन भने ट्रेकरहरु सोही बाटो भएर अप्पर मुस्ताङको लोमाथाङसम्म पुगेर पहाडको रमणीय सौन्दर्य, घाँसे मैदान, स्थानीय सांस्कृतिक परिवेश, माटो र ईट्टाले बनेको स्थानीय घरको स्थानीय शैलीको पर्खाल, गुम्बाहरु अवलोकन गर्ने गर्दछन् ।

सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुुलुकको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ भने सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दसौंमा इजिप्ट विश्वको उत्कृष्ट गन्त्वयको सूचीमा छन् ।

लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो । २ सय ४ पृष्ठको उक्त पुस्तकमा लोन्ली प्लानेटले घुम्नैपर्ने उत्कृष्ट १० मुलुकसँगै १० क्षेत्र र १० सहरको सूची पनि सार्वजनिक गरेको छ । लोन्ली प्लानेटको ट्राभल गाइडबुक धेरै भाषामा निस्कन्छ । गाइड बुकमा नेपालका आकर्षण र महत्त्वपूर्ण पयर्टकीय स्थल, होटल, नक्सा र यातायातसम्बन्धी सूचना दिइएको छ । ‘लोन्ली प्लानेट’ ले यसअघिका संस्करणहरुमा नेपालका सगरमाथा, अन्नपूर्ण, लाङटाङ, हेलम्बु र मनास्लु क्षेत्रलाई छनोटमा राखिसकेको छ ।

लोन्ली प्लानेटले उत्कृष्ट देशको साथमा उत्कृष्ट क्षेत्र र उत्कृष्ट शहरको समेत सूची प्रकाशित गरेको छ। लोन्ली प्लानेटको उत्कृष्ट १० क्षेत्रको सूचीको पहिलो नम्बरमा आइसल्यान्डको वेस्टएफजोर्डस, दोस्रोमा अमेरिकाको वेस्ट भर्जिनिया, तेस्रोमा चीनको सिस्वाङपन्ना, चौथोमा बेलायतको केन्टस हेरिटेज कोस्ट र पाँचौमा अमेरिकाको पुरेटो रिको रहेका छन् । त्यस्तै छैटौं घुम्नुपर्ने क्षेत्रमा जापानको शिकोकु, सातौमा चिल्लीको अटाकम्मा डिजर्ट, आठौंमा अष्ट्रेलियाको द सिनिक रिम, नवौंमा क्यानाडाको भ्यानकोभर आइसल्यान्ड र दशौंमा फ्रान्सको बुरगुन्डी रहेका छन् ।

त्यस्तै लोन्ली प्लानेटले सन् २०२२ मा घुम्नुपर्ने १० उत्कृष्ट शहरहरुको सूची समेत प्रकाशित गरेका छन् । लोन्ली प्लानेटको सूचीमा पहिलो नम्बरमा न्युजिल्यान्डको अकल्यान्ड, दोस्रोमा ताइवानको ताइपेइ, तेस्रोमा जर्मनीको फ्रेइबर्ग, चौथोमा अमेरिकाको एटलान्टा र पाँचौमा नाइजेरियाको लगोस रहेको छ । सूचीको छैठौ नम्बरमा साइप्रसको निकोसिया–लेफ्कोसिया, सातौंमा आयरल्यान्डको डब्लिन, आठौंमा मेक्सिकाको मेडिना, नवौंमा इटालीको फ्लोरेन्स र सुचीको दशौं नम्बरमा दक्षिण कोरिया गओन्ज्यु रहेको छ ।
-मेरो लगानीबाट 

100% LikesVS
0% Dislikes