एमसीसीबारे सत्य बोल्न कोहि डराउनु हुँदैन : डा. महत


लेखक : लेखापढी      १८ कार्तिक २०७८, बिहीबार २२:१६ मा प्रकाशित     
एमसीसीबारे सत्य बोल्न कोहि डराउनु हुँदैन : डा. महत

झापा । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अमेरिकी अनुदानमा आधारित एमसीसी सम्झौताका विषयमा सत्य बोल्न कोही पनि डराउन नहुने बताएका छन् । बिर्तामोडस्थित कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले एमसीसीका विषयमा कांग्रेसका नेता र कार्यकर्ता पनि बोल्न डराउने गरेको उल्लेख गरे ।

भारत, चीन, कोरिया, जापान, युरोपियन युनियनलगायतबाट नेपाललाई बर्सेनि अनुदान र ऋणमा आधारित सहयोग प्राप्त हुने गरेको उल्लेख गर्दै सहमहामन्त्री महतले अमेरिकाले दिने सहयोगमा फरक मापदण्ड र नीति अख्तियार गर्न नहुने बताए । सबै मित्रराष्ट्रसँगको परराष्ट्र नीति समान हुनुपर्नेमा उनको जोड थियो ।

एमसीसीमार्फत अमेरिकाले दिने सहयोग ऋण नभएर अनुदान भएको उनले स्पष्ट पारे । विद्युतीय ट्रान्समिसन लाइन, सडकजस्ता महत्त्वपूर्ण पूर्वाधार निर्माणमा आउने सहयोग नेपालले स्वीकार गर्नुपर्ने नेता महतको धारणा थियो ।

विदेशी सेना आउने, विदेशको कानुन लागु हुने, सार्वभौमसत्ता संकटमा पर्नेजस्ता गलत र हुँदै नभएका हल्ला चलाइएकाले एमसीसीबारे जनतालाई सत्य कुरा सुनाउन नेताहरुले आँट गर्नुपर्ने उनको भनाइ थियो ।

नेता महतले भारतीय जनता पार्टीको निमन्त्रणामा हालै भारत भ्रमणमा जाँदा सीमा समस्या र तुइन समस्याको समाधानका बारेमा खुलस्त रूपमा छलफल भएको जानकारी दिए ।

केपी ओली नेतृत्वको सरकारका पालामा भारतसँगका सम्झौताका विषयमा प्रष्ट कुरा र अडान राख्न नसकेको उनले आरोप लगाए । ओलीले सडक, मिडिया र जनतातिर फर्केर चर्को राष्ट्रवादी कुरा राखेर भ्रम छरेको डा. महतको भनाइ थियो ।

सर्वोच्च अदालतमा भइरहेको विवादका विषयमा उनले स्वतन्त्र न्यायालय समस्या समाधानका लागि असफल भएमा व्यवस्थापिकाको हस्तक्षेप स्वाभाविक रूपमा निम्तिने बताए । “राज्यका सबै अंग स्वतन्त्र छन्, एउटाले आफ्नो समस्या समाधान गर्न सकेन र राज्य व्यवस्थामै अप्ठ्यारो अवस्था सिर्जना भएमा अर्को अंगको हस्तक्षेप अपरिहार्य हुन्छ”, उनले भने ।

महामन्त्रीको उमेदवार बन्ने संकेत
डा. महतले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदको उमेदवार बन्ने संकेत गरेका छन् ।

ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिर पुगेर फर्किने क्रममा झापामा कार्यकर्तासँग भेटघाट गर्दै उनले लामो समय एउटै पदमा नबस्ने उल्लेख गर्दै सहमहामन्त्री पदको ‘सह’ यसपालि हटाउने इच्छा भएको बताए । उनले छिटै महामन्त्री पदको उमेदवारी घोषणा गर्ने बताए

कार्यक्रममा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए । ताप्लेजुङबाट बिर्तामोडस्थित पार्टी कार्यालयमा आउनुअघि डा. महत महामन्त्रीको उमेदवारी घोषणा गरेका प्रवक्ता शर्मालाई भेट्न मेचीनगरस्थित उनको निवास पुगेका थिए । रासस

50% LikesVS
50% Dislikes