आजदेखि शुरु भयो तिहार


लेखक : लेखापढी      १६ कार्तिक २०७८, मंगलवार १३:३७ मा प्रकाशित     
आजदेखि शुरु भयो तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल प्रतिपदासम्म तिहार मनाइन्छ । 

मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ ।

आज धन्वन्तरी जयन्ती र धनतेरस पर्व परेको छ ।

यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

बुधबार बिहान ७ : १४ बजेसम्म त्रयोदशी तिथि परेकाेले सूर्योदय भएपछि काग तिहार मनाइन्छ । 

तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको  छ ।

कात्तिक १८ गते बिहीबार बिहान लक्ष्मी पूजा परेकाे छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । 

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको उनले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४२ शुरु हुन्छ ।

आजदेखि भाइटीकासम्म नेपालीले दशैँपछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् । 

50% LikesVS
50% Dislikes