समाज सुधारक, नैतिकताका अपिसैपाल, नागरिक समाजका अगुवा ‘पृथ्वीराज’


लेखक : लेखापढी      १४ कार्तिक २०७८, आईतवार १७:०७ मा प्रकाशित     
समाज सुधारक, नैतिकताका अपिसैपाल, नागरिक समाजका अगुवा ‘पृथ्वीराज’

सामान्यतया एउटा मानिस मर्दा उसको घरपरिवार, छरछिमेक, नातागोता साथीसंगातीहरु दुखित हुन्छन्, शोक मान्दछन्, अभाव महसुस गर्दछन्, उसको रिक्तता बोध हुन्छ आफ्नाहरुलाई । 

समाजका कोही फराकिलो व्यवहारिकताका ब्यक्तिको परलोकगमनमा पनि समाजले दु:ख मनाउ गरिरहन्छ ।  कुनै नेता, अभिनेता, व्यापारी, उद्योगपति, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, निजामती, सेना, प्रहरी, न्यायमूर्ति, स्रष्टा, पत्रकार, यावत् पृष्ठभूमिका मानिसको अन्त्येष्टिमा पनि तत् तत् क्षेत्र सम्बन्धित मानिसहरू विह्वल हुने गर्दछन् ।

पछिल्लो समय हाम्रो नेपाली समाजमा अधिकांश मानिस पद, पैंसा र शक्ति निकटस्थ देखिन खोज्ने वा रहन खोज्ने मनोविज्ञानबाट ग्रसित रहेका पाइन्छन् ।

पछिल्लो समय हाम्रो नेपाली समाजमा अधिकांश मानिस पद, पैंसा र शक्ति निकटस्थ देखिन खोज्ने वा रहन खोज्ने मनोविज्ञानबाट ग्रसित रहेका पाइन्छन् । हाम्रो नेपाली समाजमा हामी कतिपय यस्ता ब्यापारी, उद्योगपति देख्दछौं, जसले इमानदारीपूर्वक आफ्नो ब्यापारिक, औद्योगिक कार्य अगाडि बढाइरहेको होस् तथापि, उसले आफूभन्दा ज्यादा ठूलो ब्यापारी र उद्योगपति वा कुनै दलको नेतालाई बढावा दिने, अग्रस्थानमा राख्ने वा सर्वमान्य ठान्ने गर्दछ, चाहे उसको पृष्ठभूमिमा गैरकानुनी या गलत नियतले नै काम भैरहेको किन नहोस् ।

यही समाजमा यस्ता बुद्धिजीवी, पत्रकार, शिक्षक, प्राध्यापक, सरकारी कर्मचारी, साहित्यकार, कलाकार (गायक, संगीतकार,नायक, खलनायक, हाँस्यकलाकार इत्यादि) छन्, जो आफ्नो राजनीतिक आस्थाको हिसाबमा राजनीतिक दलका नेताहरुको पक्षधरतामा लीन रहन्छन् । सेना, प्रहरी, निजामती, संस्थान र शक्तिका पुजारी बनेका अन्य सरकारी निकाय पनि यस्ता प्रवृत्तिबाट अछुता रहेका पाइन्नन् । कुनै दलको नेताको निधन हुदा ती दलका ती नेताबाट फाइदा लिएका नेता कार्यकर्ता बाहेककाको हृदय खासै विरक्त भएको पाइदैन । 

पुष्पलाल, विश्वेश्वरप्रसाद र मनमोहनकालीन समयका अग्रगामी, प्रगतिशील, परिवर्तनकामीहरुभन्दा, अहिले शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल, प्रचण्डकालका अवसरवादी, चाकरीबाज र यथास्थितिवादीहरु ज्यादा शक्तिशाली बनेको वर्तमान उत्तरआधुनिक समयमा पनि समाजमा कहिंकतै आस्थानायकहरु जीवितै रहेका पाइन्छन् । त्यो आस्था भनेको समाजका दुखी, गरिब, निमुखा, आवाजविहीनहरुको साहस र आवश्यकताको आवाजका रुपमा हरेक मानिसको हृदयमा जीवन्त रहनु हो । 

जब कुनै यस्तै आस्थानायकको अवसान हुन्छ, तब सिङ्गो समाजसँग सारा राष्ट्र पनि रोइरहन्छ । असलमा सिङ्गो मानवता र मानवीय संवेदना रोइरहन्छ ।  यस्तै आफ्नो शेषयात्रामा सारा समाजलाई रुवाएर जाने एक बैकुण्ठ यात्री हुन् – पृथ्वीराज अवस्थी । जसले आफ्नो जीवन सारा समाजका लागि समर्पण गरे । समाजका सानासाना आवश्यकता पनि जसका आफ्ना कर्तव्यका पुलिन्दा बने । समाज सुधारका हरेक पाइलाहरु जसका लागि आफ्नो निजि सन्तुष्टिका खुट्किला बने ।

आम मानिसका दैनिकी र सरोकारका विषयहरु हमेशा जसका लागि ‘श्रीमद्भागवत गीता’ को सार सरह बन्यो, तिनै ब्रह्मलीन, महापुरुष, समाजसुधारक सर्वश्री पृथ्वीराज अवस्थीको निधनमा सारा समाजले आँशु बगाएको छ ।

आम मानिसका दैनिकी र सरोकारका विषयहरु हमेशा जसका लागिश्रीमद्भागवत गीता’ को सार सरह बन्यो, तिनै ब्रह्मलीन, महापुरुष, समाजसुधारक सर्वश्री पृथ्वीराज अवस्थीको निधनमा सारा समाजले आँशु बगाएको छ । कुटियाङ्दी, मर्चवार र पशुपतिनगर रोएको छ । टनकपुर, कोशी र गण्डकीले तप्पतप्प आँशु खसालेको छ ।

इमान र नैतिकता बचाएर कर्तव्यपालना गरिरहेका न्यायमूर्ति, प्राध्यापक, शिक्षक, बुद्धिजीवी, पत्रकार, सेना, प्रहरी, गुप्तचर, संस्थान, कलाकार, साहित्यकार सबैलाई सोच्न बाध्य बनाउने मृत्यु लिएर आएका पृथ्वीराजले जीउँदो छँदा पूर्णतः नसकेपनि मरेपछि सोध्न बाध्य पारिदिएकोछ सिङ्गो नेपाली समाजलाई, आँखिर ! यो चाकरी, चाप्लुसी, शक्तिको पुजा, केका लागि ?

वास्तविकताबाट पछि हट्दै शक्ति निकट देखिन र रहन खोज्ने अभिलाषा के का खातिर ?  हो ! आज यही प्रश्न अनुत्तरित रुपमा सबै सामु तेर्सिरहेको छ तर पृथ्वीराज जस्ता एकजना आस्थानायकको अवसानले पुष्टि गरिदिएको छ कि, जीवनमा समाजका लागि निस्वार्थ समर्पित हुनसक्नु नै वास्तविक रुपमा बाँच्नु हो । 

जनसेवाका खातिर कुनै राजनीतिक दल विशेषको राजनीति गरेपनि असलमा उनले नेतृत्व र प्रतिनिधित्व केवल समाजका निम्नवर्गका मानिसका पक्षमा गर्ने चाहना राखिरहन्थे

एउटा गरिब तर कट्टर हिन्दु ब्राह्मण परिवारमा जन्मेका पृथ्वीराज समाज सुधारकका रुपमा देशभर प्रसिद्ध भए । उनले जनसेवाका खातिर कुनै राजनीतिक दल विशेषको राजनीति गरेपनि असलमा उनले नेतृत्व र प्रतिनिधित्व केवल समाजका निम्नवर्गका मानिसका पक्षमा गर्ने चाहना राखिरहन्थे ।

वि.सं. १९९२ साल मङ्सिर १५ गतेका दिन बैतडी जिल्लाको डिलाशैनी (कफलान) मा पिता श्री शिवदत्त अवस्थी र आमा श्रीमती झुपादेवी अवस्थीको एक्लो सुपूत्रका रुपमा जन्मेका पृथ्वीराजले केवल बैतडी जिल्ला र सुदूरपश्चिमको मात्रै नभएर पछिल्लो समय विकृत बनेको नेपाली राजनीति र सामाजिक क्षेत्रकै लागि निष्कलंक एवं वेदाग प्रेरणापुञ्जका रुपमा आफ्नो परिचय स्थापित गरेका छन् ।

कफलान उनका मामाको घर हो । उनी आठ महिनाको गर्भमै छँदा बुवाको मृत्यु भएकोले आमा माइतीघरमा बसेकी थिइन् । त्यहीँ उनको जन्म भएको थियो । पछि दुई वर्षका बालक पृथ्वीराज आफ्नो पितृ थलो सुर्नया गाउपालिकाको मूलखटाली ल्याइए ।

अत्यन्तै गरिबी र पछौटे समाजमा जन्मिएर अभाव र पीडा भोग्दै साक्षर बनेका पृथ्वीराज सधैं आफ्नो समाजलाई यी दु:खबाट पार लाउन चाहिरहन्थे । त्यसका लागि जुनसुकै मूल्य चुकाउन पनि उनी पछि हट्दैनथे । बाआमाका एक्ला सन्तान भएका र ८ महिनाकै गर्भावस्थामा रहँदा बुवा गुमाउनुपरेको पीडादायी पारिवारिक अवस्थाका कारण सानैमा उनले बैतडी पाटन शिलंगाका प्रमानन्द पन्तकी छोरीसँग विवाह गरे ।

गर्भमै छँदा बुवा गुमाएको पीडा त थियोे नै विवाह गरेको ३\४ वर्षमै उनकी पत्नीको निधनको पीडा पनि उनीमाथि थपियो । त्यसपछि १४ वर्षको उमेरमा निधन भएकी पत्नीकै बहिनी देवकीसँग दुवै परिवारको राजीखुशीमा उनको विवाह गरियो । तीन छोरा र दुई छोरीका पिता पृथ्वीराज आफ्ना सन्तानलाई पनि आफ्नै सत्य र इमानको मार्गमा डो-याउन सफल रहे । उनका छोराहरु बुवाकै प्रेरणामा कर्मशील बनेर जीवन निर्वाह गरिरहेका छन् ।

पृथ्वीराज लोकेन्द्रबहादुरका मुखिया पिता महावीर चन्दका गुरु पुरोहित खलकका थिए ।

उनले बैतडीबाट राजनीतिमा भविष्य बनाउन सक्रिय बैतडीको मल्लोस्वराड क्षेत्रका जिम्वाल महावीर चन्दका छोरा लोकेन्द्रबहादुर चन्दसँग संगत सुरु गरे । पृथ्वीराज लोकेन्द्रबहादुरका मुखिया पिता महावीर चन्दका गुरु पुरोहित खलकका थिए । पश्चिम नेपालतिर सेती महाकालीका जिल्लामा अहिले पनि गुरु जजमानको सम्बन्धलाई अत्यन्तै बलियो रुपमा स्थापित सम्बन्धका रुपमा लिइन्छ ।  लोकेन्द्रबहादुर त्यतिबेला भारतबाट उच्चशिक्षा सकाएर घर फर्केका थिए ।

कानूनका विद्यार्थी भएपनि साहित्य लेखन, आध्यात्म र पूजापाठमा विशेष रुचि राख्ने तथा गलत गर्न सधैं डराउने सकारात्मक गुण अवस्थी र चन्दका ठ्याक्कै मिल्ने हुनाले यी दुवै एकअर्काका बहुतै शुभेच्छुक र सहयोगीका रुपमा देखिन थाले । लोकेन्द्रबहादुर चन्दले लडेका जिल्ला, अञ्चल र राष्ट्रिय पञ्चायतका चुनावमा पटकपटक सँगसँगै अनुभव बटुलेका पृथ्वीराजले लामो समयसम्म जनताका सार्वजनिक सरोकारका विषयमा खासै परिवर्तन आएको नदेखेर स्वयं सक्रिय राजनीतिमा होमिने संकल्प लिए ।

बढ्दो पश्चिमा संस्कृतिको प्रभाव, वैदेशिक हस्तक्षेप र ब्यक्ति केन्द्रित राजनीति हावी भैरहँदा पृथ्वीराजको निस्वार्थ एवं समाज सुधारोन्मुख मार्ग निर्माण गर्ने महत्वाकांक्षा कहिल्यै पुरा हुन सकेन उनको जीवनकालमा ।

पञ्चायतकालमै अवस्थीले ‘लालटिन’ चिन्ह लिएर चुनाव लडे तर पराजित भए । पृथ्वीराजले लडेको चुनावमा लालटिन चिन्हले केवल उनको चुनाव चिन्ह मात्रै संकेत गर्दैनथ्यो, अँध्यारो, गरिबी, अशिक्षा, बेरोजगारी, लगायतका तमाम जन आवश्यकता र आकाँक्षालाई इंगित गर्दथ्यो । तर बढ्दो पश्चिमा संस्कृतिको प्रभाव, वैदेशिक हस्तक्षेप र ब्यक्ति केन्द्रित राजनीति हावी भैरहँदा पृथ्वीराजको निस्वार्थ एवं समाज सुधारोन्मुख मार्ग निर्माण गर्ने महत्वाकांक्षा कहिल्यै पुरा हुन सकेन उनको जीवनकालमा । तर त्यही चुनाव चिन्हले उनको नामको पर्यायवाची थपिदियो,–‘लालटिन बाजे’ ।  

जनताको दैलोमा भोट मात्रै होइन चुनाव लड्न नोट पनि मागेर इमानदारीको उच्चतम नमूना देखाएका लालटिन बाजे सधैं आम मानिसको हृदयमा सम्मानित भएर बाँचिरहे । उनले चाहेको राजनीति जनता, जनजीविका र जनसरोकारका विषयमा केन्द्रित हुनुपर्छ भन्ने मान्यतालाई पछिल्लो समय नेपाली राजनीतिक दल र तिनका नेताहरुले मनमौजी या आफ्नो खेलौना बनाएर छाडिदिएका छन् ।

अझ यसो भनौं, नेपाली राजनीति कहाँबाट कसले कसरी परिचालन गरिरहेका छन् स्वयं मुख्य संवाहकहरुमध्येका जिम्मेवार कहलिएका नेताहरू समेत अनभिज्ञ छन् । फरक यत्ति हो, कसैले यो वास्तविकतालाई स्विकार गर्छन्, ढोंगी र पाखण्डीहरु अझैपनि पलपल इमान बेचेर नैतिकता र देशभक्तिका लामालामा फेहरिस्त सुनाउँछन् । यो देशको बिडम्बना बनेको छ अहिले । 

पञ्चायतकालीन अवधिमा दुईपटक र पछि पनि दुईपटक गरेर चारपटक प्रधानमन्त्री बनेका लोकेन्द्रबहादुर चन्दजस्ता दिग्गज एवं निर्विवाद तथा निष्कलंक नेतासँगै राजनीतिक अनुभव संगालेका पृथ्वीवाजे बहुदलपछि पहिलो पटक वि.सं. २०५१ मा सांसदको टिकट लिएर आए, एमाले पार्टीका तर्फबाट बैतडी जिल्लामा । त्यो चुनावमा उनी आफ्ना दौंतरी लोकेन्द्रबहादुर चन्दसँगै पराजित भए । त्यसपछि उनमा झन ठूलो हौसला पलायो र २०५६ को चुनाव पनि चन्दसँगै लडे ।

काँग्रेसले जीत हात पारेको उक्त चुनावमा उनले चन्दलाई हराउन ठूलो भूमिका खेले । उनको उम्मेदवारीका कारण नै लोकेन्द्रबहादुरले पराजय भोग्नुपरेको थियो । बहुदलीय राजनीति कति निर्मम हुन्छ भन्ने कुराको जीवन्त एवं अनुपम उदाहरण पनि थियो त्यो चुनावी नतिजा । एकताका भात पकाउने र खाने गुरु जजमानको सम्बन्ध एकअर्कालाई हराउनसम्म पुगिसकेको थियो । उनले एमालेको संगठनलाई गाउँगाउँमा विस्तार गर्दै चुनाव लड्दै बलियो बनाउदै लगे । तर त्यहाँ पनि पृथ्वीराजका पवित्र सपना र चाहना पुरा हुन पाएनन् ।

खासमा उनले बुझेको ‘कम्युनिस्ट भनेको गरिब, निमुखा र शोषितपीडित जनताको उत्थान गर्ने राजनीति’ थियो ।

उनले राजनीति सिकाएकाहरुकै कारण आफैंले खोलेर विस्तार गरेको एमाले पार्टी परित्याग गरि नागरिक समाजको अगुवा बनेर जनताको सेवा गर्नुप-यो उनलाई ।  खासमा उनले बुझेको ‘कम्युनिस्ट भनेको गरिब, निमुखा र शोषितपीडित जनताको उत्थान गर्ने राजनीति’ थियो । पंक्तिकारसंगको करिब एक दशक लामो सहयात्रामा उनले गरेको मार्गदर्शनका क्रममा यी कुरा गरिरहन्थे । जीवनको उत्तरार्धमा पनि २/३ वर्षको समयबाहेक उनको चिन्तन केवल समाजकै लागि सोच्न र सकेको गर्नमा ब्यतित भयो । 

माओवादी विद्रोह उत्कर्षमा थियो । पृथ्वीराज नागरिक समाजका अगुवाका रुपमा देशभर कहलिन्थे त्यतिबेला । देशका ठूलाठूला नागरिक अगुवा पनि पश्चिम नेपालमा मानवाधिकार र जनताको तर्फबाट निष्पक्ष पैरवी गर्नेमा पृथ्वीराजकै नाम अगाडि सार्थे । कतिपय ठाउँमा सुरक्षाफौजले माओवादीका नाममा सामान्य नागरिकलाई प्रताडित गर्थे भने धेरै ठाउँमा माओवादीले सरकारी कर्मचारी र सेनाप्रहरीका परिवारजनलाई अनाहक दु:ख दिने गर्दथे । तर पृथ्वीराजको जानकारीमा आएका कतिपय यस्ता घटना अप्रिय हुनबाट जोगिए ।

धेरै माओवादी आरोपित सर्वसाधारण र धेरै सेना प्रहरीका परिवारजन बचाउन पृथ्वीराजको सामाजिक पैरवी सफल रह्यो । संकटकालको अत्यन्तै असहज परिस्थितिमा सुराकीको आरोपमा मारिनै लागेका मानिसलाई माओवादी कब्जाबाट छुटाउनेदेखि लिएर काराबासमा कठोर सजाय भोग्न अभिसप्त माओवादी आरोपित मानिसलाई यातनामुक्त जीवनदान प्रदान गर्न आफ्नो ज्यानको बाजी थाप्ने पृथ्वीराजको निस्वार्थ समर्पण र पैरवी कहिल्यै अस्ताउने छैन

माओवादीले आफ्नो आन्दोलन सफल पार्न गाउँगाउँबाट जातीय नारालाई अगाडि सारेर देशलाई जातीय राज्यमा विभक्त गरि जातीय तथा भेगीय दंगालाई प्रश्रय दिइरहँदा देशभरबाट पहिलोपटक पृथ्वीराज अवस्थीकै मार्गदर्शनमा जातीय राज्य विरुद्धको आन्दोलन सुदूरपश्चिमबाट प्रारम्भ भयो । सांसद, मन्त्री, दलका प्रमुख नेता सबैलाई सचेत र सजग बनाउदै उनको मार्गदर्शनमा ऐतिहासिक अखण्ड सुदूरपश्चिम आन्दोलन सफल भयो जसको फलस्वरूप देश जातीय राज्यको कालरात्रीमा जाकिनबाट जोगियो ।

उत्कर्षमा काँग्रेस, कम्युनिस्ट र अन्य केही दल निर्देशित नागरिक अगुवाहरु अग्रसर देखिएपनि वास्तवमा देशलाई जातीय राज्यमा बाँडिनबाट जोगाउन अखण्ड सुदूरपश्चिम आन्दोलनका सर्बोच्च कमान्डर सर्वश्री पृथ्वीराज अवस्थीलाई देशले सधैं सम्झिरहनेछ ।

उत्कर्षमा काँग्रेस, कम्युनिस्ट र अन्य केही दल निर्देशित नागरिक अगुवाहरु अग्रसर देखिएपनि वास्तवमा देशलाई जातीय राज्यमा बाँडिनबाट जोगाउन अखण्ड सुदूरपश्चिम आन्दोलनका सर्बोच्च कमान्डर सर्वश्री पृथ्वीराज अवस्थीलाई देशले सधैं सम्झिरहनेछ । सो क्रममा आन्दोलनको रुपरेखा र कागजपत्र तयार गर्ने सम्पूर्ण जिम्मेवारी पृथ्वीराज र उनको समूहले यस पंक्तिकारलाई सुम्पेका हुन्थे ।

उनकै अगुवाईमा २०७० सालको संविधानसभाको दोस्रो चुनावताक अखण्ड सुदूरपश्चिम पार्टी नेपाल पनि निर्वाचन आयोगमा दर्ता भयो । देशभरबाट ५७ जना उम्मेदवार खडा गरिए । धेरै ठाउँमा पृथ्वीराज स्वयं प्रचारप्रसारमा खटिए । बैतडीमा फेरि एकपटक पूर्वप्रधानमन्त्री चन्दसँगै उनले प्रतिस्पर्धा गरे । यसपटकको प्रतिस्पर्धा भने फरक थियो, चन्द प्रत्यक्ष र अवस्थी समानुपातिक उम्मेदवार रहेका थिए । तथापि चन्दभन्दा अवस्थीका उम्मेदवार पुष्करराज जोशी लख्खाभाइले प्रभावशाली मत ल्याए । 

स्वयं गरिबी र अभावको पीडामा बाँचेर पनि सिङ्गो समाज र परिवारजनलाई समेत आफु हिडेकै सत्य, निष्ठा र इमानको बाटोमा हिड्न अभिप्रेरित गरिरहे । 

समग्रमा, सत्ता, स्वार्थ र अहंकारको लालसामा प्रायोजित प्रमाणित भैसकेको विद्रोहको जगमा विलासिता, सत्ताप्राप्तिलाई सबथोक ठानिदै गरेको वर्तमान परिप्रेक्ष्यमा पृथ्वीराज अवस्थी देशभरका कथित  प्रजातन्त्रवादी, उदारवादी र माक्सवादीहरुभन्दा कयौं गुना आदरणीय रहेका छन् र रहिरहनेछन् । जसले जीवनभर केवल सत्य र निष्ठाको राजनीति गरे । मानवता र न्यायको पुजा गरे । जनता, समाज र राष्ट्रको हितलाई सर्वाेपरि ठाने । तर स्वयं गरिबी र अभावको पीडामा बाँचेर पनि सिङ्गो समाज र परिवारजनलाई समेत आफु हिडेकै सत्य, निष्ठा र इमानको बाटोमा हिड्न अभिप्रेरित गरिरहे । 

कुनैबखत बैतडीको सदरमुकाम जत्तिकै चल्तीको क्षेत्र पाटनमा क्याम्पस स्थापनाका लागि पृथ्वीराजले महत्त्वपूर्ण भूमिका निर्वाह  गरे । २०४२ सालमा उद्घघटन भएको पाटन बहुमुखी क्याम्पसका संस्थापकका रुपमा पृथ्वीराज अवस्थी सदैव स्मरणीय र पूज्य रहनेछन् त्यस भेगका नागरिकका लागि । प्राकृतिक विपत्तिमा मानवीय सहयोग गर्नुपर्छ भन्ने पवित्र नियतका अवस्थीकै सक्रियतामा बैतडीमा नेपाल रेडक्रस सोसाइटी स्थापना भयो । रेडक्रस मार्फत उनले जिल्लाभरि सामाजिक तथा मानवीय सेवामा महत्वपूर्ण योगदान गरे ।

उनले समाजका लागि गरेको निस्वार्थ सेवाभाव र समर्पणका लागि राजा वीरेन्द्रबाट २०४३ साल फागुन १४ गते प्रबल गोर्खा दक्षिणबाहुले विभूषित भए । २०६४ सालमा शिक्षा मन्त्रालयले शैक्षिक उन्नयनमा गरेको योगदानको उच्च मूल्यांकनसहित उनलाई सम्मानित ग-यो । रेडक्रस रजत जयन्तीको अवसरमा २०४६ सालमा मानवीय कार्यमा महत्वपूर्ण योगदान गरेवाफत अधिराजकुमारी हेलन शाहबाट अभिनन्दित भए । समाजकल्याण परिषदले पनि उनलाई २०५२ सालमा समाजसेवा पुरस्कार समर्पण ग-यो ।

पवित्र दृष्टिकोण र आचरण भएका पृथ्वीराज अवस्थीजस्ता आस्थानायकको अवसानले नेपाली राजनीति र सामाजिक सेवाका क्षेत्रमा अतुलनीय एवं अपूरणीय क्षति भएको छ ।

उनको निधन हुनुभन्दा केही समय अघिमात्र सुदूरपश्चिम प्रदेश सरकारले उनको घरमै गएर सम्मान गरेको थियो । राजनीति सकारात्मक सामाजिक रुपान्तरणका लागि गर्नुपर्दछ, जनताको जीविका र स्वाधीनताका पक्षमा गर्नुपर्दछ, राष्ट्रको अखण्डता र अस्मिता रक्षार्थ हुनुपर्दछ र समाजसेवा निष्कामभावले गर्नुपर्दछ भन्ने पवित्र दृष्टिकोण र आचरण भएका पृथ्वीराज अवस्थीजस्ता आस्थानायकको अवसानले नेपाली राजनीति र सामाजिक सेवाका क्षेत्रमा अतुलनीय एवं अपूरणीय क्षति भएको छ । यस्तो लाग्छ नेपाली राजनीति र समाजसेवाबाट सत्य, निष्ठा र इमानको धरहरा भत्किएको छ । नैतिकताको अपिसैपाल ढलेको छ । 

उनको अन्येष्टिमा चितासामु यिनै शब्दले श्रद्धा अर्पित गरे,– 
‘यो ज्वाला 
जसरी बलिरहेछ दनदनी 
त्यसरी नै बलिरहनेछ
कीर्ति जगमा
त्याग, निष्ठा, इमान र नैतिकताका पुजारी
कमै भेटिन्छन् 
कमै पाइन्छन् 
कमै जन्मिन्छन् धरामा ।

तर जो जन्मिन्छन् र भेटिन्छन् 
ती पृथ्वीराज कहलिन्छन् !!

अन्तिम बिदाई पृथ्वी बाजे !’


हेमबाबु लेखक
(साहित्यकार हेमबाबु लेखक राप्रपा नेपालका नेतासमेत हुन।)

 

100% LikesVS
0% Dislikes