पदम बडालको लघुकथा “बाख्रोको फोटोसेसन”


लेखक : लेखापढी      ११ कार्तिक २०७८, बिहीबार १०:४९ मा प्रकाशित     
पदम बडालको लघुकथा “बाख्रोको फोटोसेसन”

डाँडादेखि उर्लेर आएको खोलाले पुल बगायो, त्योभन्दा बढी त किनारका घरखेत बगायो । किनारै किनार खनिएको सडकसँग बदला लिँदै उर्लेको खोलाले धनीका महल र गरिबका झुप्रा बगायो । रुखका ठुँटा हटाइएको जमिनदारको जिउलो र किसानको कान्लो धसायो । बिल्लिबाठ भएकाहरू कोही स्कुलको शरणमा छन््, कोही त्रिपालभित्र कोचिएका छन्् । खानेकुरा, नखाने कुरा बगायो । देखाउने कुरासमेत बगाएकाले नदेखाउने कुरा केही थिएन बचेको । गोठका बस्दै नबस्ने रनेको बाख्रो, रने, उसकी श्रीमती र रनेको छोरो हरिसहित बस्तिका दुई दर्जन अनागरिक चौरमा ओस बिच्छ्याएर आकास ओढ्दै बसेका थिए ।

सदरमुकामबाट साहेबहरूको टोली आयो । भुस्खलन्, खोलाको कटान, बस्तिको धसान र बगर पल्टेको मसान हेर्न ती ठाउँमा जानै पर्दैनथ्यो, टाढैबाट देखिन्थ्यो । टोलिसँगै एक–एक थान क्यामेरा र रिकर्डरधारीहरु पनि थिए । लेन्सहरु आफूतिर तेस्र्याएको देखेर ओसिलोबाट बच्न ढुङ्गोमा चढेको बाख्राले एक पोज दियो । सुरुमा एक क्यामेराले खिचिक्क के गरेको थ्यो, अरु लेन्सहरू पनि उतिर तेर्सिए र खिचिक–खिचिक आवाजसँगै बाख्राको फोटोसेसन सकियो । उता साहेबहरू राहतका विज्ञप्ति र भाषण पुन्तुरासँगै १०० र ५० बाँड्दै थिए, अनागरिकहरूको जिभ्रो साहेबहरू गएपछिको मालका लागि रसाइरहेका थिए ।

(पदम बडाल दार्चुलामा रहेर प्राध्यापन, साहित्य लेखन एवम् पत्रकारितामा सक्रिय हुनुुहन्छ । उहाँको यो लघुकथा समसामयिक व्यङ्ग्यका दृष्टिले महत्वपूर्ण रहेको छ ।)

100% LikesVS
0% Dislikes