अनुमति नलिई अब सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने, प्रस्तावित आचारसंहिता हेर्नुहोस


अनुमति नलिई अब सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने, प्रस्तावित आचारसंहिता हेर्नुहोस

काठमाडौं । इन्टरनेटमा आधारित माध्यमबाट हुने विज्ञापनलाई कडाइ गर्ने प्रावधानसहित विज्ञापन बोर्डले विज्ञापन आचारसंहिताको मस्यौदा सार्वजनिक गरेको छ ।

सोकारवालासँगकाे छलफलपछि अन्तिम रुप दिने भन्दै सोमबार बोर्डले आचारसंहिताको मस्यौदा सार्वजनिक गरेको हो ।

 

बोर्डले सार्वजनिक गरेको आचारसंहितामा अनुमति नलिई सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने प्रावधान राखिएको छ ।

‘अनुमति नलिई सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण तथा वितरण गर्न गराउन तथा त्यस्ता विज्ञापन सामग्रीलाई शेयर वा सम्प्रेषण गर्न हुँदैन,’ मस्यौदाको बुँदा ५.९ को ङ मा भनिएका छ ।

विज्ञान आचारसंहिताको मस्यौदामा सामाजिक सञ्जालमा परिचय लुकाएर पनि विज्ञापन गर्न नपाइने प्रावधान राखिएको छ ।

‘सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो वास्तविक परिचय लुकाई वा सामाजिक सञ्जालको नक्कली आईडी निर्माण गरी वा अर्को व्यक्तिको आइईडीको अनधिकृत प्रयोग गरी कुनै प्रकारका विज्ञापन गर्न गराउन हुँदैन,’ आचारसंहिताको मस्यौदामा भनिएको छ ।

सामाजिक सञ्जालमा विज्ञापनका लागि गैरकानूनी रुपमा मुद्रा विदेश पठाउन नपाइने प्रावधान पनि यो मस्यौदामा छ ।

यस्तै, सम्बन्धित व्यक्तिको मञ्जुरीबिना सामाजिक सञ्जाल, मोबाइल एप र अन्य कुनै पनि एपमार्फत् विज्ञापन पठाउन नहुने प्रावधान पनि आचारसंहितामा छ ।

विज्ञापन क्षेत्रलाई व्यवस्थित गर्न सरकारले गत वर्ष कात्तिक ८ गते विज्ञापन बोर्ड गठन गरेको हो । विज्ञापन क्षेत्रको नियमन गर्ने अधिकार बोर्डलाई छ ।

विज्ञापन ऐन २०७६ अनुसार बोर्ड गठन भएको हो ।

विज्ञापन ऐन जारी गरिएको दुई वर्ष पुगेको अवसरमा बोर्डले सोमबार आचारसंहिता सार्वजनिकीकरण तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आचारसंहिता लागू भएपछि विज्ञापन व्यवस्थित गर्न सहज हुने बताए । सञ्चारसचिव वैकुण्ठ अर्यालले विज्ञापन बजार प्रतिस्पर्धी हुनुपर्ने भनाइ राखे ।

कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले एक महिनासम्म सरोकारवालासँग छलफल गरी आचारसंहितालाई अन्तिम रुप दिइने बताए । उनले आगामी दुई महिनाभित्र आचारसंहिता लागू हुने जानकारीसमेत दिए ।

कार्यक्रममा बोल्दै मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले डिजिटल मिडिया र सामाजिक सञ्जालमा विज्ञापन गर्दा मुद्रा बाहिरिने भन्दै विज्ञापनमा रोक लगाउनुपर्ने धारणा राखे ।