नेपाल एयरलाइन्सले धनगढी- बझाङ नियमित उडान गर्ने


लेखक : लेखापढी      ७ कार्तिक २०७८, आईतवार ०३:५८ मा प्रकाशित     
नेपाल एयरलाइन्सले धनगढी- बझाङ नियमित उडान गर्ने

बझाङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हवाई यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमले धनगढीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ ।

धनगढीलाई बेस बनाएर जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आइतबार परीक्षण उडान हुने भएको हो । लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाई यात्रा एक मात्र विकल्पका रूपमा रहेको छ ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुने बताए ।

धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ रुपैयाँ भाडादर कायम भएको छ । धनगढीदेखि बझाङको तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ रुपैयाँ हवाई भाडादर कायम भएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आइतबार बिहान नेपाल वायुसेवा निगमले धनगढी बझाङ उडान गर्नेछ । हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन् समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ ।

असोज ३१ गतेदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दसँै मनाउन घर आएका काठमाडौं, पोखरा, धनगढी, नेपालगन्जलगायत बाहिर जिल्लामा पढ्ने विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सकेका छैनन् । धनगढीबाट आउने मालवाहक गाडी, बस र कतिपय यात्रु समेत बीचबाटोमै अलपत्र परेका नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले बताए । -रासस

100% LikesVS
0% Dislikes