पैसा माग्न अश्लील भिडियो भाइरल गर्ने धम्की, तपाईँ नफस्नुस् है- अब्दुस मियाँ


पैसा माग्न अश्लील भिडियो भाइरल गर्ने धम्की, तपाईँ नफस्नुस् है-  अब्दुस मियाँ

काठमाडौँ । मैले सामाजिक सञ्जाल चलाउन थालेको १० वर्ष भयो । यतिका समयमा पहिलो पटक म यस्तो घटना र आपराधिक मानसिकताको सिकार बनेँ । म जस्ता अरू युवा सिकार नबनुन् भनेर यो जानकारी शेयर गर्दै छु ।

 

सार्वजनिक व्यक्ति त्यसमाथि पनि राजनीतिमा सक्रिय भएकाले म आफूले चिनेका नचिनेका अधिकांशको फेसबुक फ्रेन्ड रिक्वेस्ट मिलेसम्म स्वीकार गर्छु । शनिवार त्यस्तै भयो, ‘प्रियंका राओ’ नाम गरेकी युवतिको फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । सामान्य रूपमा हेर्दा फेक प्रोफाइल जस्तो पनि लागेन ।

मैले सधैँ झैँ फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरे । सामान्य परिचय नहुँदै उनले मसँग मेरो ‘ह्वाट्स एप नम्बर’ मागिन् । वेबसाइट, फेसबुक पेज लगायत सबैजसो सामाजिक सञ्जालमा मेरो मोबाइल नम्बर सार्वजनिक रहेकाले मलाई त्यो पनि सहज नै लाग्यो, मैले ह्वाट्सएप नम्बर पनि दिएँ । 

केही मिनेट नबित्दै ह्वाट्स एपमा नयाँ नम्बरबाट कल आयो । मैले कल उठाए । भिडियो कल रहेछ । स्क्रिनमा देखिएकी अन्दाजी २१ वर्षकी ती युवती आफ्नो कपडा खोल्न थालिन् । हेर्दा हेर्दै निर्वस्त्र भइन् । एक छिन त मैले केही सोच्न, विचार गर्नै सकिन । जीवनमा पहिलो पटक यस्तो घटना म सँग भइरहेको थियो ।

अप्रत्याशित रूपमा यस्तो घटना घटेपछि कसरी प्रतिक्रिया दिने भेउ नपाइँदो रहेछ । मैले भिडियो अफ गरेँ र लगत्तै कल काटेँ ।

कल कटेसँगै केही मेसेजहरू आए जसमा मलाई फेरि कल गर्न प्रस्ताव गरिएको थियो । मैले मानिन् । यतिन्जेल मलाई यो कुनै उग्र यौन चाहना भएकी युवतीको प्रयास हो भन्ने लाग्यो । कहाँ फसियो भनेर दिमाग रन्थनिएको थियो ।

एक छिनमा ह्वाट्सएपमा एउटा भिडियो प्राप्त भयो । खोलेर हेरेँ । यसमा भर्खरै भएको करिब १ मिनेटको भिडियो कल र नजाने कसको ५० सेकेन्ड जतिको हस्तमैथुनको भिडियो जोडेर, मेरो नाम, मोबाइल नम्बर सहित भिडियो बनाइएको रहेछ । भिडियो हेर्दाहेर्दै अर्को मेसेज आयो । म्यासेज थियो, ‘भिडियो डिलिट गर्न पैसा लाग्छ, पैसा नदिए भिडियो भाइरल !’ 

करिब १५ मिनेटभित्र यो सम्पूर्ण घटना घट्यो । अब मलाई लगातार धम्कीपूर्ण मेसेजहरू आउन थाले, घरी ५ मिनेटभित्र पैसा देऊ घरी १० मिनेटभित्र, अन्यथा भिडियो भाइरल हुन्छ । यतिन्जेल मेरो फेसबुकमा रहेका करिब ५,००० जना साथीहरूको विवरण उनीहरूसँग थियो । यो भिडियो अझै एडिट गरेर सबैलाई पठाइदिन्छौ भन्दै उनीहरू धम्क्याइरहेका थिए ।

यता मेरो मनस्थिति एकाएक यति कमजोर बन्यो कि के गर्ने के नगर्ने मैले निर्णय गर्नै सकिन । म उनीहरूलाई जवाफ पनि फर्काउन सकिरहेको थिइन् । उनीहरू घरीघरी भन्थे, तिमीलाई आफ्नो प्रेस्टिजको कुनै मतलब छैन ? 

यतिन्जेल यो घटना राम्रोसँग सोचविचार गरेर रचिएको हो भन्ने मैले चाल पाइसकेको थिएँ । उनीहरूले मलाई भारतको ‘एस बैंक’ को खाता नम्बर दिए र भारु २१ हजार डिपोजिट गर्न भने । नेपालबाट पैसा पठाउन मिल्दैन, पैसा चाहिन्छ भने १ हप्ता कुर भनेर मैले लेखेँ । यस्तो समयमा के गर्नुपर्छ भन्ने निर्णय गर्न नसकेपछि समय लम्ब्याउनु भन्दा म सँग अर्को कुनै विकल्प थिएन । तर, उसले हिजै मात्रै नेपालबाट अरुको पैसा संकलन गरिएको भन्दै जानकारी दियो । र भन्यो, ‘तपाईंलाई २४ घण्टाको समय भयो ।’

घटना भएको भोलिपल्ट बिहान उठेर दिल्लीको एकजना साथीलाई फोन गरेर घटना सुनाएँ । उनले आफ्नो नजिकको अर्को साथीलाई यस्तै आपराधिक गिरोहले गतहप्तामात्रै ब्ल्याकमेल गरेर लाखौं रुपैयाँ असुल गरी अन्त्यमा भिडियो समेत सार्वजनिक गरिदिएको खबर सुनाए । 

उनले त्यति भनेसँगै यस्ता घटनाबाट प्रभावित हुने म मात्रै रहेन छु भन्ने भयो । केही राहत मिल्यो । उसले भारतमा विभिन्न गिरोहहरू यसरी सक्रिय भएको र नेपालका सार्वजनिक छवि भएका युवाहरूलाई लक्षित गरी ब्ल्याकमेल गरिरहेको जानकारी समेत दियो । यसले मलाई थप बल पुग्यो । त्यो सँगै मैलै उनीहरूलाई पैसा दिन्न जे सुकै गर, म नेपाल प्रहरी अन्तर्गत रहेको साइबर ब्युरोमा उजुरी हाल्छु भनेर म्यासेज पठाए ।

किन भने म सँगै उनीहरूको बैंक अकाउन्ट थियो, फोन पेको अकाउन्ट थियो । भने, ह्वाट्सएपमा म सँग च्याट भइरहेको पर्सनल नम्बर । यती जानकारी हुँदा प्रहरीले जुनसुकै हालतमा पनि पत्ता लगाउन सक्छ भन्ने मलाई भयो । तर, उसले जवाफमा प्रहरीले कुनै पनि हालतमा पत्ता लगाउन नसक्ने दाबी गर्‍यो । भन्यो, ‘बैंक, फोन पे, ह्वाट्सएपमा दिइएको सम्पूर्ण जानकारी फेक छ ।’

उसको त्यस्तो जवाफ आएसँगै मैले पनि यसो कल्पना गरें । यो सबै भारतबाट भइरहेको छ । प्रहरीले पनि कसरी यसलाई पत्ता लगाउने । त्यो भएसँगै मलाई अब यो सँग झुक्ने भन्दा पनि चुनौती खेप्नु नै सबैभन्दा राम्रो विकल्प हो भन्ने लाग्न थाल्यो । मैले पनि उसलाई भिडियो सार्वजनिक गरेपनि गर, म तलाईं पैसा दिन्न भनेर भनिदिएँ ।

त्यति भनेर यो घटनाको पूर्ण जानकारी मैले आफ्नो फेसबुक वालमा सबैले थाहा पाउने गरी सार्वजनिक गरिदिएँ । ता की यसले आम जनचेतनाका लागि पनि काम गरोस् । त्यसपश्चात् उक्त गिरोहसँग थप कुनै कुरा भएको छैन । म्यासेज आदानप्रदान भएको छैन । भने, भिडियो पनि अहिलेसम्म सार्वजनिक भएको छैन । तर, उसले अन्त्यमा भनेको एउटा म्यासेजले भने मैलाई धेरै नै पिरोली रहेको छ ।

उसले भनेको थियो, ‘हामी जस्ता सायौँ समूह छन् जो यस्तै काम गरिरहेको छ ।’ यो सुन्दा सानो सुनिए तापनि पनि यसको सन्देश निकै नै ठुलो छ । आज म यो घटनाको सिकार हुँदा भोलि अरू नेपाली नपर्ला भन्न सकिँदैन ।

त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा विधिको अवलम्बन गर्न आवश्यक छ । यदि चुकियो भने यस्ता आपराधिक गिरोहहरूको फन्दामा परिने रहेछ । बिचार पुर्याउ है ।

म, नेपाल प्रहरी, नेपालको सूचना प्रविधि क्षेत्रका साथीहरू तथा अन्तराष्ट्रिय समुदायका इथिकल ह्याकरहरूसँग मिलेर यो गिरोहलाई समात्ने र कानुनी दायरामा ल्याउने प्रयास गर्नेछु ।   
तपाईँ आफू भने सुरक्षित रहनुहोला है !
(टेकपानामा प्रकाशित सामाग्री सबैमा सुचनाको लागि साभार गरिएको छ)